काठमाडौं । भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेका सात जना व्यक्तिका जलेका कंकालको पहिचान हुन नसकेपछि तिनलाई ‘बेवारिसे’ मानेर अन्त्येष्टि गर्ने तयारी भइरहेको छ।
काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनी परिसरमा भेटिएका ती सात वटा शव पूर्ण रूपमा जलेका कारण पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार ती शवको डीएनए परीक्षण गर्ने प्रयास असफल भएको हो।
‘त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागले जलेका कंकालबाट नमूना संकलन गरी परीक्षणका लागि पठाएको थियो,’ डिआइजी घिमिरेले भने, ‘तर कुनै जीवित कोष (सेल) फेला नपरेकाले डीएनए परीक्षण सम्भव भएन।’
सामाखुसीस्थित नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले पनि परीक्षण असफल भएको पुष्टि गरिसकेको छ। डीएनए परीक्षण नै पहिचानको अन्तिम आशा भएकाले अब ती शवलाई बेवारिसे मानेर अन्त्येष्टि गर्ने तयारी भएको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए।
उनका अनुसार शवहरू यति धेरै जलेका छन् कि तिनका फोटो लिएर पहिचान गर्ने सम्भावना पनि छैन। ‘कंकालको केही भाग मात्र बाँकी छ, छुँदा पनि मासिन सक्छ,’ चौधरीले बताए, ‘त्यसैले सामान्य प्रक्रियाबाट पहिचान असम्भव भएकाले अब अन्त्येष्टि गर्नुपर्छ।’
फरेन्सिक विभागले यसबारे औपचारिक रूपमा प्रहरीलाई पत्राचार गर्ने तयारी गरिरहेको छ। त्यसपछि प्रहरीको समन्वयमा बेवारिसे शव व्यवस्थापनका लागि सम्बन्धित निकायमार्फत पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।
डा. चौधरीका अनुसार आन्दोलनको क्रममा मृत्यु भएकाले शव व्यवस्थापनको स्वरूपबारे अन्तिम निर्णय प्रहरी प्रशासनले लिनेछ।
यसबीच, केही व्यक्तिहरू आफन्त हराएको भन्दै अस्पताल पुगे पनि कंकालसँग मेल खाने कुनै प्रमाण भेटिएको छैन। भाटभटेनी सुपरमार्केटले भने आफ्ना कर्मचारीहरू आगजनीमा नपरेको दाबी गरेको छ।
प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया