काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक संरक्षण महाअभियानका संयोजक दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन सञ्चालन गर्ने घोषणा गरेका छन्। उनले यो आन्दोलन कुनै प्रकारको हिंसा वा तोडफोडका लागि नभएको स्पष्ट पारेका छन्।
प्रसाईंका अनुसार यो अभियान पूर्व–मेचीदेखि पश्चिम–महाकालीसम्म १४ अञ्चल, ७५ जिल्लाका १६५ निर्वाचन क्षेत्रमा फैलिनेछ। उनले भने, ‘यो आन्दोलन बन्दुक, बारुद, आगजनी, घर जलाउने वा नागरिक र व्यवसायमा तोडफोड गर्ने उद्देश्यले भएको छैन।’
बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलन मङ्सिर ७ गतेदेखि सुरु हुने जानकारी दिएका छन्। प्रसाईंले थपे, ‘मङ्सिर ७ गते ऐतिहासिक दिन हो। दिल्लीमा दलहरू र माओवादीबीच भएको १२ बुँदे सम्झौताका कारण राजसंस्था र हिन्दू अधिराज्य समाप्त भयो। त्यसपछि देशमा विदेशी प्रभाव बढ्यो, नेपाली नागरिक विदेश गए र देश खाली भएको अवस्था सिर्जना भयो।’
उनले यस अभियानलाई पशुपति तथा माता दुर्गा जोगाउने र विदेश गएका नेपाली नागरिकलाई घर फर्काउने अभियानको रूपमा व्याख्या गरे। सबै नेपाली नागरिकलाई व्यवस्था परिवर्तनको लागि तयार रहन आह्वान गर्दै उनले आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य सामग्रीहरू घरमा राख्न समेत अनुरोध गरेका छन्।
आन्दोलनका क्रममा यदि कसैले तोडफोड वा आगजनी गरेमा त्यसको जिम्मेवारी महाअभियानले नलिने प्रसाईंले स्पष्ट पारेका छन्। उनले चैत १५ गतेको घटनामा पनि बाहिरी घुसपैठ भएको दाबी गरे।
सरकारको वार्ता प्रस्ताव र उनलाई थुनिने सम्भावनाबारे प्रसाईंले भने, ‘म भाग्ने अवस्थामा छैन, र अब भाग्ने छैन।’ मानव अधिकार आयोगले पनि उनका उठाउनुपर्ने मागलाई समर्थन गरेको उनले बताए।
अन्ततः उनले सम्पूर्ण मानवअधिकारवादी, पत्रकार, देश–विदेशमा रहेका नेपाली नागरिक र निजामती कर्मचारी तथा प्रहरीलाई मङ्सिर ७ गतेदेखि आन्दोलनमा साथ दिन र बिदा बस्न अनुरोध गरेका छन्। पत्रकार सम्मेलन मार्फत उनले केही थप जानकारी सार्वजनिक गर्ने तयारी रहेको पनि बताएका छन्।
प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार












प्रतिक्रिया