काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का र स्थान हद तोकिएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।
अधिवक्ता प्रेमराज सिलवालले ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालका हकमा राहदानी रोक्का र स्थान हद तोकिएको निर्णय असंवैधानिक भएको भन्दै रिट पेस गरेका हुन्।
सिलवालले दाखिला गरेको रिटमा जाँचबुझ आयोगले संविधानले सुनिश्चित गरेको व्यक्ति स्वतन्त्रतामाथि अतिक्रमण गरेको दाबी गरिएको छ। उक्त रिटको पहिलो सुनुवाइ (पेसी) बिहीबारका लागि तोकिएको छ।
जाँचबुझ आयोगले गत भदौ २३ र २४ गतेका घटनाको अनुसन्धानका क्रममा यी पाँच जना अनुसन्धानको दायरामा रहेको भन्दै विदेश भ्रमणमा रोक लगाउन र आयोगको अनुमति बिना काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको थियो।
रिट निवेदक सिलवालले यस्तो निर्णय कानुनसम्मत नभएको र व्यक्तिको आवागमन अधिकार उल्लङ्घन गर्ने खालको भएको दाबी गरेका छन्।
प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार












प्रतिक्रिया