काठमाडौं । सहकारी ठगीको आरोपमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू विरुद्ध अघिल्लो सरकारले लगाएको मुद्दाबारे वर्तमान सरकारको धारणा खोजिरहेको बताएका छन्।
बुधबार आफूलाई भेट्न कारागार पुगेका पार्टीका नेता प्रमोद न्यौपाने मार्फत सन्देश पठाउँदै उनले हिजो आफ्नो गिरफ्तारीलाई ‘अन्याय’ भन्नेहरू आज सरकारमा हुँदा केही बोल्नुपर्ने बताए।
उनले भने- ‘वर्तमान सरकारकाे धारणा खोजिरहेको छु, ‘फेवर’ होइन। हिजो ‘अन्याय भयो’ भन्नेहरूले आज केही त बोल्नु पर्ला !’
भेटमा सभापति लामिछानेले पछिल्लो जनमतले रास्वपालाई मुलुकको चौथो शक्ति बनाएकाले वैकल्पिक र परिवर्तनकारी शक्तिहरूलाई एकताबद्ध गर्ने जिम्मेवारी पनि आफ्नो पार्टीको काँधमा आएको सुनाए।
उनले भने- ‘चाैथाे शक्ति हुनुको नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ।’ उनले आवश्यक परेको खण्डमा रास्वपाले देशका लागि नेतृत्व लिन र त्याग गर्न दुवैका लागि तयार रहेको स्पष्ट पारे।
वर्तमान राजनीतिक परिस्थितिलाई लक्षित गर्दै उनले ‘एकपटक चिठ्ठा परेकाहरू पटक-पटक परोस् भन्ने ठान्ने’ तर ‘संयोग सधैं दोहोरिँदैन’ भन्दै सांकेतिक टिप्पणीसमेत गरे।
उनले भने- ‘एकपटक चिठ्ठा परेकाहरू पटक-पटक परोस् भन्ने ठान्छन्। तर, संयोग दाेहाेरिरहँदैन नि ! भर्खरै चिठ्ठा परेका केहीलाई फेरि चिठ्ठाकै आस/लोभ छ। लाेभीहरूले चिठ्ठा किन्न सक्छन्। तर, फेरि पर्छ नै भन्ने हुन्न। हरेक जालमा माछा पर्दैन नि !’
कुनै पनि क्षणिक लाभ-हानिको हिसाब नगरी रास्वपालाई मुलुकको पहिलो शक्ति बनाउने आफ्नो दृढतामा कुनै कमी नआएको उनले स्पष्ट पारे।
प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार













प्रतिक्रिया