काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बैठक बस्दैछ ।
कांग्रेस बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो । बैठक गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेको जनाइएको छ ।
आजको बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ । हाल सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको कार्यसमितिको कार्यकाल मङ्सिरभित्र सकिँदैछ । यस अवस्थामा सुरुदेखि नै पार्टीको नियमित महाधिवेशन गर्ने वा नगर्ने विषयमा चर्चा भइरहेको छ । नियमित महाधिवेशन नहुने अवस्थामा विशेष महाधिवेशन हुनुपर्ने मागसहित केही नेताहरूले महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । त्यस क्रममा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको जनाइएको छ ।
यसअघि असोज २८ गते सुरु भएको भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।  त्यसयता खड्काको सभापतित्वमा कार्यसमितिको बैठक बसिरहेको छ ।
यसबीचमा तिहार तथा छठ पर्वसमेत परेकाले यही कात्तिक १ गतेको अन्तिम पटक बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गरी अर्को बैठक आजका लागि तोकेको थियो ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com