काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच करिब छ वर्षपछि बिहीबार ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ। सन् २०१९ पछि पहिलो पटक आमने-सामने भएका यी दुई नेताहरूले हात मिलाउँदै सौहार्दपूर्ण अभिवादन गरेपछि औपचारिक वार्ता सुरु गरेका हुन्।

वार्ताको सुरुवातमा राष्ट्रपति ट्रम्पले आशावादी हुँदै भने, ‘हाम्रो आजको भेट सफल हुनेछ भन्नेमा मलाई कुनै शंका छैन। सी जिनपिङ कडा वार्ताकार हुन्, तर हामीबीच राम्रो समझदारी छ।’

advertisement

यो बैठकलाई विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार तनाव कम गर्ने प्रयासको रूपमा हेरिएको छ। रोयटर्सका अनुसार, छलफलमा व्यापार सम्झौता, भन्सार महसुल, ताइवानको स्थिति र फेन्टेनाइल नामक मादक पदार्थको अवैध तस्करी मुख्य एजेन्डा रहेका छन्।

जिनपिङद्वारा ट्रम्पको प्रशंसा
वार्ता सुरु हुनुअघि राष्ट्रपति सी जिनपिङले ट्रम्पको ‘शान्ति स्थापना र युद्ध रोक्ने प्रयास’ को प्रशंसा गरेका थिए। उनले भने, ‘चीन र अमेरिका सधैं सबै कुरा एउटै दृष्टिकोणबाट हेर्न सक्दैनन्, तर संवाद र सहकार्य दुवैका लागि आवश्यक छ। हामीले सम्बन्धलाई सही दिशातर्फ डोर्याउनुपर्छ, जसले दीर्घकालीन स्थायित्व ल्याउँछ’

जिनपिङले थपे, चीनको विकास दृष्टिकोण र ट्रम्पको ‘अमेरिकालाई पुनः महान बनाउने’ लक्ष्यबीच समानता छ।’

नयाँ व्यापार सम्झौतामा ट्रम्पको जोड
राष्ट्रपति ट्रम्पले चीनसँग नयाँ व्यापार सम्झौता गर्न इच्छा व्यक्त गरेका छन्, जसमा अमेरिकी सोयाबिन खरिद र दुर्लभ खनिजको आयात–निर्यातमा सहजता दिने प्रस्ताव समावेश छ। फेब्रुअरी २०२५ मा अमेरिकाले चीनमा १० प्रतिशत भन्सार शुल्क लगाएको थियो, जुन केही महिनामै बढ्दै १४५ प्रतिशत पुगेको थियो। हाल चीनबाट आउने वस्तुमा ३० प्रतिशत कर लागू छ।

ट्रम्पले चेतावनी दिएका छन् कि, ‘यदि चीनले आफ्नो नीति परिवर्तन गरेन भने नोभेम्बर १ देखि चिनियाँ सामानमा १०० प्रतिशत कर र कडा व्यापार नियम लागू हुनेछ।’ यो चेतावनी चीनले केही खनिज र म्याग्नेट निर्यातमा प्रतिबन्ध लगाएको प्रतिक्रियामा आएको हो।

ट्रम्पले चीनसँग रुस–यूक्रेन युद्ध अन्त्यका लागि सहयोग माग्ने तयारी गरेको बताएका छन्। गत हप्तामात्र अमेरिकाले रुसका दुई ठूला तेल कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो, जसको चीनले विरोध गरेको छ।
ट्रम्पले भनेका छन्, ‘म सी जिनपिङसँग रूसी तेल खरिदबारे पनि कुरा गर्नेछु। चीन अहिले रुसबाट निकै कम तेल किन्दैछ।’

यससँगै, ताइवान मुद्दा पनि वार्ताको केन्द्रीय विषय बन्ने बताइएको छ। चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्ने गरेको छ, तर अमेरिका ताइवानलाई रक्षा सहायता र हतियार उपलब्ध गराउँदै आएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्,

‘ताइवानलाई त्याग्नु कुनै पनि व्यापार सम्झौताको हिस्सा हुनेछैन। ताइवानको सुरक्षा चिन्ता पूर्ण रूपमा जायज छ।’

यो भेटलाई विश्व राजनीतिको सन्तुलनमा निर्णायक मोड ल्याउन सक्ने संकेतका रूपमा विश्लेषकहरूले हेरिरहेका छन्।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com