काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा अभ्यासका क्रममा एक युवा क्रिकेट खेलाडीको मृत्यु भएको छ।

१७ वर्षीय बेन अष्टिन मंगलबार फेर्नट्री गलीस्थित क्रिकेट नेटमा प्रशिक्षण लिइरहेका बेला दुर्घटनामा परेका थिए। अभ्यासका क्रममा स्वचालित बलिङ मेसिनबाट आएको बल टाउको र घाँटीमा लाग्दा उनी गम्भीर रूपमा घाइते भएका थिए।

advertisement

हेलमेट लगाएरै अभ्यास गरिरहेका अष्टिनलाई चोट लागेपछि तुरुन्तै उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकहरूले उनलाई जीवनरक्षक उपकरण (लाइफ सपोर्ट सिस्टम) मा राखे पनि उनको अवस्था सुधार हुन नसकी बुधबार निधन भएको बीबीसीले जनाएको छ।

फेर्नट्री गली क्रिकेट क्लबले बेनको असामयिक निधनले क्लब शोकमा डुबेको जनाएको छ। क्लबले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बेन प्रतिभाशाली, अनुशासित र सबैका प्रिय खेलाडी थिए। उनको योगदान र उत्साहले क्लबलाई सधैं प्रेरित गर्नेछ।’

फेर्नट्री गली एन्ड डिस्ट्रिक्ट क्रिकेट एसोसिएसनका अध्यक्ष आर्नी वाल्टर्सले पनि गहिरो दुःख व्यक्त गर्दै भने, ‘बेन स्थानीय क्रिकेटमा मात्र होइन, सम्पूर्ण समुदायमा लोकप्रिय थिए। यो क्षतिले हाम्रो क्रिकेट परिवारलाई गम्भीर रूपमा असर पारेको छ।’

यो दुःखद घटना सन् २०१४ मा अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको मृत्यु भएको झण्डै एक दशकपछि आएको हो। ह्युज सेफिल्ड शिल्ड खेलका क्रममा ब्याटिङ गर्दै गर्दा बल घाँटीमा लागेपछि ज्यान गुमाएका थिए। सो घटनापछि क्रिकेटमा सुरक्षात्मक उपकरणमा सुधार गरिए पनि ताजा घटनाले फेरि खेलाडीको सुरक्षामाथि प्रश्न उठाएको छ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com