तनहुँ । बीस हजार लगानीबाट सुरु गरेको व्यवसाय हाल करोडको जायजेथामा परिणत भएको छ । नवलपरासीका विष्णुकुमार चौधरीले १६ वर्ष दमौलीमा ढाकाको व्यवसाय गरेर करोडको सम्पत्ति जोड्नु भएको हो ।
व्यास नगरपालिका–२ मा २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उनि सफल उद्यमी बनेका छन् । ढाका उद्योगमा उनले २५ जनालाई रोजगारी दिनुभएको छ । हाल उहाँको उद्योगमा रु एक करोड बढीको लगानी छ ।
ढाकाबाट उत्पादन गर्न सकिने विभिन्न परिधानबारे प्रशिक्षणका सिलसिलामा दमौली आएका उनले रु २० हजार लगानी गरी व्यवसाय थालेको राससलाई बताए ।
उनले भने, ‘पछिल्लो समय अपेक्षा गरिएअनुरुप व्यापार नभए पनि ढाकाको साडी र कोटतर्फ युवायुवतीको आकर्षण बढ्दै गएको छ’, ढाकाबाट पहिले टोपी र चोली मात्र बन्ने गरे पनि अहिले अन्य परिधान बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको गएको उनको भनाइ छ ।
ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरा सुरुवाल, पाल्पाली ढाकाटोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको उनले बताए । यहाँ उत्पादित ढाकाका सामग्री जिल्लामा मात्र सीमित छैनन् लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौँलगायत स्थानबाट माग हुने गरेको छ ।
यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयहरूले ढाकाको कपडा किन्ने गरेका छन् । उनले भने, ‘दौरा सुरुवाल, जनजातिको कपडादेखि धातुजन्य गहना, सटिङ सुटिङ, विवाह, व्रतबन्ध, पास्नी, विद्यालय, कलेजका पोसाकका साथै झोला उद्योग सञ्चालन गर्दै आएको छु ।’
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार











प्रतिक्रिया