बुटवल । सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका संचालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत तुलसीपुर बुटवलको इजलासमा सुनुवाइ हुने भएको छ।
उच्च अदालत तुलसीपुरका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासले मुद्दा हेर्ने कार्यभार पाएको छ। यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले लामिछाने र जोशीको मुद्दा एकै प्रकृतिको भएकाले दुवै मुद्दा एकसाथ सुनुवाइ गर्न आदेश गरेको थियो।
लामिछानेले आफ्नै भागको बिगो रकम बुझाएर थुनाबाहिर बसेर मुद्दा लड्न अनुमति मागेका थिए। उच्च अदालतले पनि रविसँगै छविलाल जोशीको फाइल पेश गर्न आदेश दिएको छ। यसअघि अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको थियो।
जेन–जी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशीको मुद्दा सुरक्षित रहेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको थियो। लामिछानेले आफ्नो भागको बिगोमध्ये २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतसहित दाखिला गराएका थिए भने जोशीले पनि समान रकम पेश गरेका थिए। तर, दुवै प्रतिवादीको हकमा कति बिगो कायम हुने यकिन नभएकाले अदालतले रिहा गर्न अस्वीकार गरेको थियो।
हाल लामिछाने पुर्पक्षका लागि ललितपुर नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा थुनामा छन्।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया