बुटवल । सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासले दुवैको मुद्दाको सुनुवाइका लागि कार्यसूची प्रकाशित गरेको थियो। तर जोशीको तर्फबाट आजको सुनुवाइ स्थगित गरियो भन्ने निवेदन पेश भएपछि अदालतले सुनुवाइ स्थगित गरेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
कुँवरका अनुसार, ‘अब अर्को बिहीबार साप्ताहिक पेशीमा, यदि रवि र छविको तर्फबाट स्थगितको निवेदन पेश हुँदैन भने सुनुवाइ हुनेछ।’
यसअघि लामिछानेको मुद्दामा न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छविलाल जोशीको मुद्दासँगै सुनुवाइ गर्न आदेश गरेको थियो। लामिछानेले थुनाबाहिर बसेर मुद्दा लड्न बिगो रकम बुझाइसकेका थिए र उच्च अदालतले रवि सँगै छविलालको फाइल पेश गर्न आदेश दिएको थियो।
भदौ ९ गते लामिछानेले जिल्ला अदालत रुपन्देहीमा आफ्नो भागको बिगो रकम पेश गरे पनि रिहा पाएका थिएनन्। उनीले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत सहित बिगो दाखिला गरेका थिए।
जोशीले पनि सोही रकम जमानतसहित पेश गरेका थिए। तर दुवै प्रतिवादीको भाग कति रकमको बिगो कायम हुन्छ भन्ने यकिन नहुनुका कारण अदालतले रिहा गर्न नमिल्ने निर्णय गरेको थियो।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ।
हाल लामिछाने पुर्पक्षका लागि ललितपुरको नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा थुनामा छन्।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार












प्रतिक्रिया