काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार नेपालको सुरक्षा निकाय अलग भएपछि ढलेकै दाबी गरेका छन्। बिहीबार दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले भदौ २४ गतेको घटनालाई त्यसको मुख्य Turning Point भएको बताएका हुन्।
महासचिव पोखरेलले भने, “राज्य भनेको केवल सरकार होइन, सुरक्षा निकाय, प्रशासन, न्यायपालिका र व्यवस्थापन मिलेर बनेको संयन्त्र हो। जब सुरक्षा निकाय नै सरकारबाट अलग हुन्छ, त्यस्तो अवस्थामा राज्य चल्न सक्दैन।”
उनका अनुसार, भदौ २४ गतेको घटनामा सुरक्षा निकायले तत्कालीन सरकारसँग सहकार्य नगरेपछि त्यसको प्रत्यक्ष परिणामस्वरूप सत्ता परिवर्तन भयो।
तर पोखरेलले सुरक्षाप्रति भएको निर्णय ‘क्षति कम गर्न’ का लागि भएको भनाइलाई अस्वीकार गरे। “सुरक्षा निकायले मानवीय क्षति कम गर्नका लागि कदम चाल्नुपर्यो भन्ने तर्क गर्छन्,” उनले भने, “तर २३ गतेभन्दा २४ गते अझ धेरै मानिस मारिए, र सम्पदामाथिको क्षति त अकल्पनीय रह्यो।
गत भदौ २३ र २४ गते देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा व्यापक हिंसा र राजनीतिक संकट उत्पन्न भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि प्रतिनिधि सभा निष्क्रिय बनेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो।
अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचन मिति घोषणा गरिसकेका छन्। दाङमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले जेन–जी आन्दोलन, अन्तरिम सरकार र आगामी निर्वाचनका सन्दर्भमा पार्टीको आधिकारिक धारणा प्रस्तुत गर्दै भने, सुरक्षा निकायले सरकारबाट दूरी कायम गरेकै कारण त्यो रात देशको सत्ता परिवर्तन भयो, जुन नेपालको राजनीतिक इतिहासमा गम्भीर उदाहरणको रूपमा रहन्छ।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया