काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता अहिले तत्काल सम्भव नदेखिएको बताएका छन्।
बिहीबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एकताको पक्षमा आफू सधैं रहने तर सहमति बिना एकता हुन नसक्ने स्पष्ट पारे।
‘पार्टी एकता गर्नुपर्ने हो, तर त्यसका लागि सबै विषयमा सहमति हुन आवश्यक छ,’ भुसालले भने, ‘माओवादीसँग एकता हुँदैन भनेर भनेका होइनौँ, तर धेरै विषयमा अझै टुंगो लाग्न बाँकी छ।’
एकता कहिलेसम्म सम्भव हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘सबै कुरा मिल्यो भने एकता हुन्छ, नत्र हुँदैन।’
बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग एकता गर्ने प्रस्ताव पेस गरेका छन्। तर पार्टीभित्र उक्त प्रस्तावमा मतभेद देखिएको छ। वरिष्ठ नेता झलनाथ खनाल एकताको विपक्षमा उभिएका छन् भने महासचिव भुसालले सशर्त समर्थन जनाएका छन्।
अध्यक्ष नेपालले कात्तिक मसान्तभित्रै एकता टुंग्याउने योजना अघि सारेका छन्। तर शीर्ष नेताहरूबीचको मतभेदका कारण प्रक्रिया तत्काल अघि बढ्ने सम्भावना कमजोर देखिएको छ।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार













प्रतिक्रिया