काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा तीन महिनाभित्र करिब एक हजार सुरक्षाकर्मीले राजीनामा दिएका छन् । नेपाल प्रहरीका करिब साढे ४ सय र एपीएफका करिब साढे ५ सय अधिकृत र जवानले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमध्ये कोही २० वर्ष सेवा पूरा गरेका छन् भने कोही ५ वर्ष मात्रै सेवा गरेका पनि छन् ।राजीनामा दिने अधिकांशले ‘घरायसी’ कारण देखाएको दुवै सुरक्षा निकायले जनाएका छन् । केही दिनअघि मात्रै नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले प्रहरी सेवाबाट राजीनामा दिएका छन् ।
उनले पनि कारणमा ‘व्यक्तिगत’ उल्लेख गरेका छन् । उनको राजीनामा स्वीकृत हुन बाँकी छ । राजीनामा दिनेहरूमा जवानदेखि वरिष्ठ नायब निरीक्षक तहसम्मका सबैभन्दा बढी छन् ।
जेन–जी आन्दोलनपछि राजीनामा दिने क्रम बढ्न थालेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । जेन–जीले २३ भदौमा गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २२ जना युवारविद्यार्थीको ज्यान गएपछि भोलिपल्ट देशभर फैलिएको हिंसात्मक प्रदर्शनमा सुरक्षा निकायका कार्यालय तथा ब्यारेक निसानामा परेका थिए ।
त्यो दिन नेपाल प्रहरीका मात्रै १२ सयभन्दा बढी हतियार लुटिएका थिए भने करिब १ लाख राउन्ड गोली अभिलेखमा भेटिएको छैन । २४ भदौमा प्रदर्शनकारीको कुटपिटबाट ३ प्रहरीको ज्यान गएको थियो । काठमाडौंको बानेश्वर वृत्तमा कार्यरत प्रहरीलाई प्रदर्शनकारीले पोसाक नै फुकाल्न लगाएर लखेटेका थिए ।
प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया