काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अनुमति नपाए पनि आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका छन्।
दिउँसो एक बजे निर्धारित बैठकमा थापाले महाधिवेशनको कार्यतालिका पेस गर्ने अडान लिएका हुन्। उनले यसबारे पार्टीभित्रको इतर समूहका नेता डा. शेखर कोइरालालाई जानकारी गराइसकेका छन्।
शुक्रबार बिहान कोइरालाले आफ्ना निकट पदाधिकारीहरूसँग विशालनगरस्थित सम्पर्क कार्यालयमा छलफल गरेका थिए। सो छलफलमा महामन्त्री थापाले कार्यवाहक सभापतिको अनुमति नपाए पनि बैठकमा कार्यतालिका पेस गर्ने अठोट व्यक्त गरेका थिए।
बैठकमा सहभागी एक पदाधिकारीका अनुसार थापाले भनेका थिए, ‘हिजो कार्यतालिका पेस गर्न रोकिएको थिएँ, आज भने बैठकमा सहभागी भएर अनुमति नपाए पनि कार्यतालिका प्रस्तुत गर्छु।’
थापाले बैठकअघि कार्यवाहक सभापति खड्कासँग सहमति जुटाउने प्रयास गर्ने पनि बताएका थिए। उनले यसअघि नै मङ्सिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्तावित कार्यतालिका सचिवालयमार्फत सार्वजनिक गरिसकेका छन्।
डा. शेखर कोइरालाले शुक्रबार बिहान उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलाई छलफलका लागि बोलाएका थिए।
छलफलमा कोइरालाले पार्टी अप्ठ्यारो मोडमा पुगेको उल्लेख गर्दै सबै पक्ष एकजुट भई नियमित महाधिवेशनको माग गर्नुपर्नेमा जोड दिएका थिए।
उनले भने, ‘नियमित महाधिवेशन अब अपरिहार्य छ। हामी सबै एक भएर संस्थापनमाथि दबाब सिर्जना नगरे पार्टी संकटमा पर्न सक्छ।’
प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार












प्रतिक्रिया