बाँके । बाँकेको खजुरा गाउँपालिका–७ स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भौतिक पूर्वाधार अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । किमोथेरापी सेवा लिँदै आएका क्यान्सरका बिरामीले शय्या अभावमा दिनभर पालो कुर्नपर्ने बाध्यता छ । दिनभर कुर्दा पनि किमोथेरापीका लागि शय्या पाउन मुस्किल हुने गरेको बिरामीहरुको गुनासो छ ।

शय्या नपाउँदा किमोथेरापीका लागि दुई दिनसम्म पालो पर्खिनुपर्ने बाध्यता रहेको नेपालगञ्ज–२१ का किमोथेरापी सेवाग्राही बिरामी डिगम्बर रानाले बताए । बुधबार दिनभर पर्खिंदा पनि पालो नपाएपछि बिहीवार अपराह्न मात्र किमोथेरापीका लागि शय्या मिलेको उनको भनाइ छ ।

advertisement

अस्पतालमा बिरामीको चाप दैनिक रुपमा बढ्दो छ । बिरामीको सङ्ख्या बढेपछि अहिले अस्पतालले एउटै शय्यामा दुई बिरामी राखेरसमेत किमोथेरापी सेवा प्रवाह गर्दै आएको छ । अस्पतालमा सञ्चालनमा रहेको ‘डे केयर वार्ड’ मा शय्या अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको अस्पतालको सूचना अधिकारी डा प्रवीणकुमार गुप्ताले बताए । उनका अनुसार, अस्पतालमा हाल करिब ५५ शय्या मात्र सञ्चालनमा छन्, त्यसमध्ये किमोथेरापी सेवा प्रवाहका लागि सञ्चालित डे केयर वार्डमा करिव २० शय्या मात्रै रहेका छन् । किमोथेरापी सेवा लिने बिरामीको सङ्ख्या भने दैनिक करिब ५० हुने गरेको छ ।

अस्पतालमा पन्ध्र शय्याको डे केयर वार्ड भवन निर्माण भए पनि हस्तान्तरण नहुँदा थप समस्या भएको छ । डे केयर वार्ड भवन हस्तान्तरण भए किमोथेरापी सेवा लिने बिरामीलाई सेवा प्रवाह गर्न सहज हुने सूचना अधिकारी डा गुप्ताको भनाइ छ । उनका अनुसार, केमोथेरापी एक क्यान्सर उपचार हो जसले क्यान्सर कोषहरूलाई त तिनीहरूको वृद्धि रोकेर वा विभाजन गरेर मार्न औषधिहरू प्रयोग गर्दछ । यो सेवा मुखबाट वा नशाबाट विभिन्न तरिकाले प्रदान गर्न सकिन्छ ।

पश्चिम नेपालको एक मात्र सरकारी क्यान्सर अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी उपचारका लागि आउने गरेका छन् । गत आर्थिक वर्ष २०८१-८२ मा मात्र यस अस्पतालबाट ३६ हजार ९३२ बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका थिए । त्यसमध्ये ७०८ बिरामीलाई शल्यक्रिया सेवा प्रवाह भएको सूचना अधिकारी गुप्ताले जानकारी दिए ।

 

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com