काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यलाई मुख्य एजेन्डा बनाएर शुक्रबार काठमाडौंमा ‘वृहत् राजनीतिक संवाद’ आयोजना गरेको छ।

बालुवाटारस्थित नेपाल हाउसमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक शक्ति, स्वतन्त्र व्यक्तित्व र युवा अभियन्ताहरूको सहभागिता रहेको थियो। ‘जेन–जी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ शीर्षकमा केन्द्रित संवादमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलगायतका नेताहरू उपस्थित थिए।

advertisement

कार्यक्रमको उद्देश्यबारे जानकारी दिंदै रास्वपाका उपसभापति तथा उच्चस्तरीय संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले जेन–जी आन्दोलनको भावना र मर्मलाई आधार मानी नयाँ राजनीतिक दिशाको खोजीका लागि संवाद थालिएको बताए।

उनले नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक, अभियन्ता र युवा पुस्ताबीच सहकार्य नहुँदा देश पुनः पुरानै राजनीतिक चक्रमा फस्ने खतरा रहेको चेतावनी दिँदै विविध राजनीतिक विकल्पबारे खुला बहस र सहमतिको आवश्यकता औंल्याए।

कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य दिँदै डा. वाग्लेले संवादको लक्ष्य र कार्यसूची स्पष्ट पारेका थिए। त्यसपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईले नयाँ राजनीतिक अभ्यास, पुस्तान्तरण र आगामी मार्गचित्रबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए।

रास्वपाका अनुसार यो संवाद श्रृंखला आगामी दिनमा पनि निरन्तर रूपमा विस्तार गरिँदै देशको राजनीतिक दिशाबारे ठोस साझा दृष्टिकोण बनाउन उपयोगी मञ्चका रूपमा अघि बढाइने छ।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com