काठमाडौं । गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा सुरक्षाकर्मीको पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा धादिङ धुनिवेशीका २१ वर्षीय कृष्ण गुरुङ, हाल काठमाडौँ–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने; काठमाडौँ–१५ भगवापाउँ जर्मन क्वाटरका २५ वर्षीय राजन देउला; भारत मोतिहारी सीतामढीका २४ वर्षीय अकबर खान, हाल काठमाडौँ–१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने; काठमाडौँ–१५ बिजेश्वरी रिट्रिट अपार्टमेण्टका २६ वर्षीय सुमिन शाक्य; र काठमाडौँ–३१ बानेश्वर घर भई क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गर्ने ३८ वर्षीय प्रभात मल्ल रहेका छन्।

advertisement

भट्टराईका अनुसार, गोप्य सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गर्दा सिएफ–९८–९ मोडलको पेस्तोल एक थान, म्याग्जिन एक थान र १५ राउन्ड गोली बरामद गरेको हो।

अनुसन्धानबाट थाहा भएका अनुसार, कृष्ण गुरुङ आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट पेस्तोल लुटपाटमा प्रत्यक्ष संलग्न थिए भने, राजन देउला, अकबर खान र सुमिन शाक्य उक्त हतियारको खरिद तथा बिक्री–वितरणमा संलग्न थिए। प्रभात मल्लले सो हतियार खरिद गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनामाथि हातहतियार तथा खरखजाना (नियन्त्रण) ऐन, २०१९ बमोजिमको मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान जारी रहेको प्रवक्ता भट्टराईले बताए।

प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com