दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का टेकबहादुर खड्काले व्यवसायिक भटमासखेती गर्न थालेको तीन वर्ष भयो ।
मलखाद र सिँचाइको समस्या झेल्दै आउनुभएका उहाँले सुरुआतमा पाँच कठ्ठा क्षेत्रफलमा सो खेती गरेका थिए। अन्य खेतीको तुलनामा भटमासबाट तीन गुणा बढी फाइदा हुनथालेपछि उनले भटमास खेती विस्तार गर्दै डेढ विघा जग्गामा खेती गरेका छन् । “भटमास खेतीमा थोरै मेहनत र लगानीमा वार्षिक दुईदेखि तीन लाखसम्म आम्दानी हुन्छ ।”उनले भने, “अन्य बाली सस्तोमा बिक्री हुन्छ भटमास बिक्री गर्दा राम्रो मुल्य पाइन्छ ।”
उनल् कम लगानीमा धेरै आम्दानी हुने भएपछि पछिल्लो समय यहाँका किसान भटमास खेतीमा लागेको बताए । “यहाँ भटमास खेती गर्नेको सङ्ख्या बढ्दै छन धान गहुँमा लगानी बढी हुन्छ मुल्य पाइँदैन ।” उनले भने, “अहिले अधिकांह किसानले परिवारलाई खान पुग्नेगरि मात्रै धान गहु खेती गर्छन बाँकि जग्गामा भटमास खेती गछौँ ।”
दोधारा चाँदनीका किसान चार÷पाँच वर्ष यता परम्परागत बाली लगाउन छोडेर भटमास खेतीमा लागेका छन् । मलखाद र सिँचाइको समस्या झेल्दै आएका यहाँ किसान थोरै परिश्रम र लगानीमा राम्रो आम्दानी हुने भएपछि भटमास खेतीमा आकर्षित भएका छन् । “धान र गहुँ खेतीमा किसानको मेहनत मात्रै हो फाइदा बिचौलियाले लिन्छन ।” दोधारा चाँदनी–९ का जगत बुढाले भने, “हामीलाई मेहनतअनुसारको मुल्य नआउने भएपछि विकल्पको रूपमा भटमास खेतीमा लागेका हौँ ।” उनले भटमासमा किसानले रोजेको मुल्य पाइने बताए । उनले गत वर्ष ८५ रुपयाँ प्रतिकिलो भटमास बिक्री गरेको बताए । “भटमास खेतीबाट वार्षिक तीन लाखसम्म आम्दानी हुन्छ ।” उनले भने “एक विघा जग्गामा भटमास खेती गरेको छु अर्को वर्षदेखि विस्तार गर्ने योजनामा छु ।”
दोधरा चाँदनीमा तीन हजार ६०० हेक्टर खेतीयोग्य जमिन छ । यसमध्ये एकसय हेक्टर क्षेत्रफलमा भटमास खेती हुँदै आएको दोधारा चाँदनी नगरपालिकाका कृषि अधिकृत कमलापति भट्टले बताए । “यहाँको माटो भटमासका लागि उपयुक्त छ अन्य बालिभन्दा भटमास धेरै फल्छ ।” कृषि अधिकृत भट्टले भने, “पछिल्लो समय भटमास खेती गर्ने किसान बढ्दैछन ।” उहाँका अनुसार गत वर्ष प्रदेश सरकारबाट भटमास खेती गर्ने किसानका लागि अनुदमनसमेत आएको थियो । “प्रदेशले २५ हेक्टरका लागि मात्रै अनुदान दिएको थियो तर यहाँ किसान धेरै आएपछि हामीले ५८ हेक्टरमा अनुदान दियौँ ।” उनले भने, “पानी नजम्ने दोमट किसिमको माटो भएकाले यहाँ भटमास खेती फष्टाएको छ ।”
भटामास खेती गर्ने किसानको सङ्ख्या बढेपछि अर्को वर्षदेखि किसान लक्षित कार्यक्रम ल्याउने योजना पालिकाको छ ।
प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार
प्रतिक्रिया