काठमाडाैं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा एकीकृत समाजवादीका कार्यकर्ताहरूमाथि गरिएको ‘घर फर्कने’ आह्वानलाई स्वागत गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै भट्टराईले पार्टी एकता र सुदृढीकरणका लागि चारवटा ठोस प्रस्तावसमेत अघि सारेका छन् ।
उनले लेखेका छन्, ‘नेकपा एमालेको निर्माणमा योगदान पुर्याएका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुन अध्यक्ष कमरेड ओलीले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ । अहिलेको प्रमुख राष्ट्रिय कार्यभार भनेकै जनताको बहुदलीय जनवाद (जवज) को मार्गदर्शनमा एमालेको नेतृत्वमा समग्र वाम आन्दोलनलाई एकताबद्ध बनाउनु हो ।’
भट्टराईले दलभित्रको निषेध, प्रतिशोध र घृणालाई विस्थापित गरी सहकार्य र सहअस्तित्वको भावनाबाट अघि बढे मात्र पार्टी एकताबद्ध र बलियो बन्न सक्नेमा जोड दिएका छन् ।
उनका अनुसार एकताको पहिलो आधार जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्नु हो । साथै, उनले पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको ऐतिहासिक योगदानलाई सम्मानपूर्वक निरन्तरता दिनुपर्ने उल्लेख गरेका छन् ।
भट्टराईले भदौ २३ र २४ पछि उत्पन्न परिस्थितिको वस्तुनिष्ठ समीक्षा गरी पार्टीको बहुआयामिक पुनर्गठन गर्नुपर्ने, आगामी निर्वाचनमा एमालेलाई विजयी दलका रूपमा उभ्याउने र पार्टीको नेतृत्वमा आर्थिक–सामाजिक रूपान्तरणमार्फत समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
चार वर्षअघि नेकपा (एमाले) बाट विभाजित भई बनेको एकीकृत समाजवादीले हालै माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ । तर, सो निर्णयप्रति वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाललगायतका नेताहरूले असहमति जनाउँदै आएका छन् ।
यस्तै, पार्टीभित्रै एकताको विषयमा विवाद बढिरहेको अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका नेता–कार्यकर्तालाई ‘घर फर्कन’ गरेको आह्वानले नयाँ राजनीतिक बहसको सिर्जना गरेको छ ।
प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार












प्रतिक्रिया