काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेसँगै एमालेको राजनीतिक यात्रा पुनः तीन टुक्रामा विभाजित भएको छ।

मूल नेकपा (एमाले) अहिले पनि केपी शर्मा ओलीको नेतृत्वमा कायम छ भने, माओवादीसँग जाने समाजवादी अध्यक्ष माधवकुमार नेपाल र सो निर्णयप्रति असन्तुष्ट झलनाथ खनाल समूहले छुट्टै बाटो लिने संकेत दिएका छन्।

advertisement

समाजवादीको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकता गर्ने प्रस्ताव पारित गरेपछि वरिष्ठ नेता खनाल र नेता घनश्याम भुसालसहितका कम्तीमा ११ जना नेताले असहमति जनाएका छन्। उनीहरूले माओवादीमा नजाने स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

खनालले भनेका छन्, “माधव नेपाल माओवादीमा समाहित भएमा म मेरो नेतृत्वमा नयाँ क्रान्तिकारी पार्टी बनाउनेछु।”

खनाल र नेपालबीचको सम्बन्ध लामो समयदेखि उतारचढावपूर्ण रहँदै आएको छ। नौौँ महाधिवेशनसम्म एमालेको नेतृत्व गरेका खनाल पछिल्ला चरणमा नेपालसँग सहकार्य गर्दै एकीकृत समाजवादीको स्थापना (२०७८ भदौ ९) मा पुगेका थिए। त्यही समाजवादी अहिले माओवादी केन्द्रमा विलयको तयारीमा छ।

यसबीच, एमाले अध्यक्ष ओलीले खनाल समूहलाई पार्टीमा फर्कन सार्वजनिक अपिल गरेका छन्। तर, खनाल पक्षले तत्काल एमालेमा फर्कने कुनै निर्णय नभएको जनाएको छ।

खनालनिकट एक नेताले भने, “अहिलेसम्म ओलीको नेतृत्वमा फर्कने वा नफर्कने विषयमा निर्णय भएको छैन। तर वर्तमान अवस्थाले एमालेको संरचना तीन टुक्रामा विभाजित भएको स्पष्ट देखिन्छ।”

यो नवीनतम घटनाक्रमसँगै, एमालेभित्रका तीन धार देखिएका छन्— ओलीको नेतृत्वमा मूल एमाले, नेपाल नेतृत्वको माओवादीसँग गएका समाजवादी, र खनाल–भुसाल समूहद्वारा तयार हुँदै गरेको नयाँ राजनीतिक समूह।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com