काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले फुटिसकेपछि एकताको कुरा गर्नु ‘वाहियात’ भएको टिप्पणी गरेका छन्।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने निर्णय गरेपछि बास्कोटाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँग नजाने समाजवादी नेताहरूलाई पार्टीमा फर्कन आह्वान गरेको केही समयमै बास्कोटाको वक्तव्य आएको हो। ओलीले शुक्रबार एकता र पुनर्मिलनको अपिल गर्दै ‘घर फर्कन’ आग्रह गरेका थिए।
तर बास्कोटाले उक्त अपिललाई व्यङ्ग्यात्मक शैलीमा खण्डन गर्दै लेखेका छन्, फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो। तर नेपालका वामपन्थीहरू त्यही प्रवृत्तिबाट अभिशप्त छन् — मिसिने तर नमिल्ने, हिन्द र प्रशान्त महासागरजस्ता।
उनले वाम एकता बारम्बार असफल हुने कारण पनि उल्लेख गर्दै भनेका छन्, मिलेर पनि नमिल्नुका कारण गहिराइको चाप र नेतृत्वको राप हो।
माधवकुमार नेपाललाई लक्षित गर्दै उनले थपे, फुटभन्दा जुट राम्रो, तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाओस् वा सुरुवा बनाएर पियोस् भन्ने अवस्था हुनुहुँदैन।
बास्कोटाको यो टिप्पणीले समाजवादी–माओवादी एकता निर्णयपछि वाम राजनीतिमा पुनः देखिएको विभाजन र वाकयुद्धलाई झनै तीव्र बनाएको छ।
प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया