काठमाडौं । नेकपा (एमाले) सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले दिवंगत गौतमले श्रमिक अधिकारका लागि जीवनभर लडेका व्यक्ति भएको भन्दै उनलाई ‘श्रमिक वर्गका महान शहीद’ का रूपमा सम्मान गर्नुपर्ने बताए।

advertisement

६५ वर्षीय गौतमको गत बिहीबार भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषणकै क्रममा निधन भएको थियो। उनी जिफन्टका उपाध्यक्षसमेत थिए।

श्रेष्ठले भने, ‘कमरेड कमल गौतमले श्रमिकका हकहितका लागि अन्तिम क्षणसम्म आवाज उठाए। त्यस्तो व्यक्ति श्रमिक आन्दोलनको गौरव हुन्, उनी फटाहा र लुटेरालाई शहीद बनाउने परिपाटीभन्दा हजार गुणा महान् शहीद हुन्।’

उनले पछिल्ला दिनमा ‘जेन–जी आन्दोलन’ का नाममा भएका केही घटनामा अनुशासनहीन व्यक्तिलाई शहीदको दर्जा दिन खोजिएको भन्दै त्यसप्रति आपत्ति जनाए। ‘सिंहदरबार जलाउने, पसल लुट्ने, आगो लगाउनेहरूलाई शहीद भनिन्छ भने, ५० हजार मजदुरको पक्षमा बोल्दै ज्यान गुमाउनेलाई किन होइन?’ उनले प्रश्न गरे।

श्रेष्ठले जिफन्टले श्रमिक अधिकार र रोजगारीको सुरक्षाका लागि आन्दोलनलाई निरन्तरता दिने बताउँदै सरकार र नियामक निकायले श्रमिकको आवाज सुन्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com