काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र महाधिवेशनको विषयमा मतभिन्नता भए पनि त्यसलाई फुटसँग जोड्नु गलत हुने बताएका छन्।
शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेस एक परिपक्व र जिम्मेवार दल भएकाले विचारभिन्नता स्वाभाविक प्रक्रिया भएको स्पष्ट पारे।
कांग्रेसमा फरक धार र मतहरू नयाँ कुरा होइन। विगतमा पनि मतभिन्नता थिए, अहिले पनि छन्, र भविष्यमा पनि रहन सक्छन्,” शर्माले भने, “तर त्यसका कारण पार्टी फुट्छ भन्ने कल्पनासमेत नगर्नुहोस्। हामी बहस र मन्थनमार्फत एकै निष्कर्षमा पुग्ने पक्षमा छौं।
महाधिवेशनको मिति र समयबारे पार्टीभित्र जारी छलफलबारे उनले महासमितिका सदस्यहरूको सुझावलाई निर्णयको आधार बनाउन सकिने प्रस्ताव गरे। उनका अनुसार, यदि प्रतिनिधि वा केन्द्रीय समितिको राय मिलेन भने महासमितिको सिफारिस अनुसार मिति तय गर्नु नै उपयुक्त हुनेछ।
शर्माले आगामी पुस १६ देखि १९ गतेसम्म, बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिसँग मेल खाने समयमा महाधिवेशन आयोजना गर्ने प्रस्ताव अघि सारे। उनले डिजिटल भोटिङ प्रणालीमार्फत विश्वभर रहेका महासमिति सदस्यहरूको राय संकलन गर्ने सुझाव पनि दिए।
उनले भने, विश्वका जुनसुकै कुनामा रहेका महासमिति सदस्यहरूको विचार समेटेर हामी समावेशी र सहमतिको बाटोमा अघि बढ्न सक्छौं। यही कांग्रेसको मध्यमार्गी विशेषता हो, जसले सदैव एकतालाई बलियो बनाएको छ।
प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार













प्रतिक्रिया