काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शनिबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग आगामी निर्वाचन तयारीका विषयमा विस्तृत छलफल गरेकी छिन्।

बालुवाटारमा भएको भेट करिब एक घण्टा चलेको थियो। प्रधानमन्त्री कार्कीले हालका दिनमा निर्वाचन तयारीबारे विभिन्न दलका शीर्ष नेतासँग परामर्श गर्दै आएकी छन्। यही क्रममा उनले कांग्रेसका दुई महामन्त्रीसँग पनि चुनावी वातावरण र दलहरूको भूमिकासम्बन्धी विषयमा विचार साटेकी हुन्।

advertisement

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार छलफलमा सरकार र राजनीतिक दलहरूका तर्फबाट अब तक भएका तयारी, बाँकी काम, र निर्वाचनका लागि आवश्यक सहकार्यबारे खुला संवाद भएको थियो।

प्रधानमन्त्री कार्कीले सबै दलले निर्वाचनमा सहभागी हुने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने आवश्यकता औंल्याएकी थिइन्। सो अवसरमा कांग्रेस महामन्त्रीद्वयले आफ्नो पार्टी निर्वाचनमा जान तयार रहेको जानकारी दिँदै भने,
“औपचारिक निर्णय हुन बाँकी भए पनि नेपाली कांग्रेस निर्वाचनमा सहभागी हुन पूर्ण प्रतिबद्ध छ। नेकपा (एमाले) पनि राष्ट्रको निकास निर्वाचनमै देख्छ भन्ने हामीलाई विश्वास छ। सरकार र हामी दुवैले मिलेर त्यस दिशामा थप प्रयास गर्नेछौं।”

थापा र शर्माले जेनजी युवा आन्दोलनका मागहरूलाई समेत ध्यानमा राख्दै आगामी दिनमा युवाहरू र अन्य राजनीतिक दलहरूसँग गहन संवाद सुरु गर्ने योजना साझा गरेका छन्। उनका अनुसार, निर्वाचनअघि सम्बोधन गर्न सकिने मुद्दा र निर्वाचनपश्चात संसदको पहिलो बैठकले प्राथमिकतामा राख्नुपर्ने एजेन्डाबारे सहमति निर्माण गर्नुपर्ने बेला आएको छ।

प्रधानमन्त्री कार्कीले नेकपा (एमाले) का नेताहरूसँग पनि निकट भविष्यमा भेटवार्ता गर्ने कार्यक्रम बनाएको उनको सचिवालयले जनाएको छ। आज पार्टी बैठकका कारण एमाले नेतृत्वले अर्को दिन भेट्ने जानकारी बालुवाटारलाई दिएको हो।

यसअघि पनि प्रधानमन्त्री कार्कीले विभिन्न दलका नेतासँग संवाद गर्दै निर्वाचन तयारी र समग्र राजनीतिक सहमतिको वातावरण सुदृढ बनाउने प्रयास गर्दै आएकी छन्। हालै उनको पहलमा सरकार, राजनीतिक दल र जेनजी युवाबीच भएको त्रिपक्षीय संवाद समेत सकारात्मक वातावरणमा सम्पन्न भएको थियो।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com