काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) सहित सात वामपन्थी दलसँग निकट भविष्यमै पार्टी एकता गर्ने निर्णय गरेको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको महाधिवेशन तयारी समिति सचिवालय बैठकले सैद्धान्तिक र नीतिगत विषयहरू टुंगो लागेकाले अब एकता प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको हो।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने,अब एकताको मूल मुद्दामा सहमति बनिसकेको छ। बाँकी प्राविधिक र संगठनात्मक तयारीका विषयमा छलफल जारी छ। कार्तिक १७ गते बस्ने केन्द्रीय समिति बैठकले एकताको अन्तिम निर्णय लिनेछ।

advertisement

सापकोटाका अनुसार माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सँगै महेन्द्रराय यादवको जनता समाजवादी पार्टी (जसपा), प्रेमबहादुर सिंह र राजु कार्कीको नेकपा (समाजवादी), सुवास काफ्लेको जनसमाजवादी पार्टी, र विप्लव समूहबाट विद्रोह गरी बनेको चिरण सी नेतृत्वको समूहसँग पनि एकता गर्ने तयारी गरेको छ।

उनले कार्तिक १८ गतेसम्म एकता घोषणा गर्ने योजना रहेको जानकारी दिए। सापकोटाले भने,यदि तत्काल वाम एकता सम्पन्न हुन सकेन भने फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको भविष्य पनि अनिश्चित हुन सक्छ। त्यसैले ढिला नगरी एकता टुंग्याउने हाम्रो प्राथमिकता हो।

उनका अनुसार माओवादी केन्द्रले नेकपा (विप्लव) र नेकपा (एकीकृत समाजवादी) लाई समेत एउटै पार्टी संरचनामा ल्याउने प्रयास गरिरहेको छ। उनले भने,अबको एकता विभाजनका लागि होइन, स्थायित्वका लागि हुनेछ। यसपटक पार्टीभित्र कुनै प्रकारको फुटको सम्भावना छैन।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत उपस्थित थिए। बैठकले आगामी महाधिवेशन तयारीसँगै वाम एकतालाई राष्ट्रिय राजनीतिक स्थायित्वको आधार बनाउने निर्णय गरेको माओवादी स्रोतले जनाएको छ।

प्रकाशित मिति: १५ कार्तिक २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com