काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराँतीले पार्टी रूपान्तरणका लागि पाँच बुँदे ठोस प्रस्ताव सार्वजनिक गर्दै ती बुँदामा लिखित सहमति भए मात्र आगामी यात्रामा आफू सहभागी हुने बताएका छन्।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै किराँतीले माओवादीको रूपान्तरण अब केवल नारा वा प्रतीकात्मक अभ्यास नभई संरचनात्मक परिवर्तन र नेतृत्वको उत्तरदायित्व पुनःव्यवस्थित गर्ने चरणमा पुगिसकेको स्पष्ट पारेका छन्।

advertisement

उनले माओवादी रूपान्तरणका लागि पाँच प्रमुख बुँदाहरू यसरी प्रस्तुत गरेका छन्–

१. संरचना र अधिकार बाँडफाँड
किराँतीले पार्टीको विधान संशोधन गरी नयाँ संरचना निर्माण र अधिकारको स्पष्ट बाँडफाँड गर्नुपर्ने बताएका छन्। आवश्यक परे संरक्षकलाई पार्टी विघटन गरेर नयाँ अधिवेशनको घोषणा गर्ने अधिकारसमेत दिनुपर्ने उनको सुझाव छ।

२. अपूर्ण र अपवित्र एकता रोक्नुपर्ने
उनले माओवादी आन्दोलन र जनविद्रोहको मूल भावना विपरीत, ‘भ्रष्टाचार मुद्दा लागेका व्यक्तिहरू’सँग हुन लागेका अपूर्ण र अपवित्र एकता प्रयासहरू तत्काल रोक्न आग्रह गरेका छन्।

३. नेतृत्व पुनःव्यवस्था
किराँतीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संरक्षक वा सर्वमान्य नेता बनाउँदै वर्तमान पदाधिकारी संरचनालाई निर्देशक कमिटीमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव गरेका छन्।

४. केन्द्रीय राजनीतिक समिति गठन
स्थायी समितिदेखि अग्रज नेताहरूसम्म समेटिएको केन्द्रीय राजनीतिक समिति बनाउनुपर्ने उनको भनाइ छ। यो समितिलाई राष्ट्रिय महत्त्वका निर्णय र सांसद छनोटजस्ता संवेदनशील विषयमा निर्णय गर्ने अधिकार दिनुपर्ने माग गरिएको छ।

५. तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी
किराँतीका अनुसार अब तेस्रो पुस्तालाई पार्टीको कार्यकारी नेतृत्व जिम्मा दिनु आवश्यक छ। यस पुस्ताले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोडेर पार्टीलाई नयाँ दिशातर्फ अघि बढाउने वा संकटबाट उद्धार गर्ने क्षमता राख्छ भन्ने उनको विश्वास छ।

किराँतीले यी पाँच बुँदालाई माओवादी पार्टी रूपान्तरणको अनिवार्य खाका ठहर गर्दै लेखेका छन्, “यदि यी बुँदामा लिखित प्रतिबद्धता हुन सक्दैन भने म पार्टीको यात्रामा सँगै हिँड्न सक्दिनँ।”

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com