काठमाडौं । अराजक र हिंसात्मक अभिव्यक्ति सार्वजनिक गरेपछि डा. निकोलस भुसाललाई प्रहरीले निगरानीमा राखेको छ।

शनिबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र काठमाडौंका मेयर बालेन शाहलगायतका नाम लिँदै तीव्र भाषिक आक्रमण गरेका थिए।

advertisement

भुसालले भदौ २३ गतेको ‘जेनजी आन्दोलन’मा भएको प्रहरी दमनका लागि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक प्रत्यक्ष जिम्मेवार भएको आरोप लगाउँदै उनीहरूलाई ‘हत्यारा’ को संज्ञा दिएका छन्। उनले सरकारले तत्कालीन नेतृत्वविरुद्ध कानुनी कारबाही नगरे आफूहरू ‘स्वयं कारबाहीका लागि घरमै पुग्ने’ चेतावनीसमेत दिएका छन्।

त्यसैगरी उनले अहिलेको सरकारमाथि पनि कटाक्ष गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ‘हुतिहारा’ र गृहमन्त्री अर्याललाई अपशब्द प्रयोग गरेर चुनौती दिने अभिव्यक्ति दिएका छन्। उनका अनुसार, ‘हे गृहमन्त्री! सक्छस् भने कारबाही गर। म तेरै गाउँको पनि हुन सक्छु, त्यसैले आदरले भेना भन्नुपर्ने हो, तर बाध्य भएर तँ भनिरहेको छु।’

यतिमै नरोकी उनले बालुवाटार परिसरमा “मिसाइल राखेको” दाबीसमेत गर्दै ‘त्यसले कसैलाई पनि नछोड्ने’ धम्की दिएका छन्।

भुसालले वर्तमान सरकारले दलहरूलाई बोलाएर गर्ने छलफल र आगामी फागुनमा हुने भनिएको निर्वाचनसमेत अस्वीकार गरेका छन्। उनका अनुसार, ‘यदि चुनाव गर्नै हो भने प्रत्यक्ष कार्यकारी प्रमुखसहितको प्रणालीमा मात्र सम्भव छ, होइन भने चुनाव नहुने।’

यसअघि पनि भुसाल विवादमा तानिँदै आएका छन्। गत असोज २३ गते माइतीघरमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेका बेला प्रहरी अस्पतालले उनको स्वास्थ्य परीक्षण गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएको थियो। त्यसपछि उनका दाजु सागर भुसालले सुधार केन्द्र लैजाने भन्दै जिम्मा लिएपछि उनलाई प्रहरीले रिहा गरेको थियो।

तर, रिहाईपछि पनि उनका उत्तेजक अभिव्यक्तिहरू रोकिएका छैनन्। शनिबारको पत्रकार सम्मेलनमा झन् आक्रामक भाषण गरेपछि प्रहरी निकायले उनलाई औपचारिक निगरानीमा राखेको जनाएको छ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com