एजेन्सी ।  पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले पूर्वी र पश्चिमी दुवै सीमा क्षेत्रमा पाकिस्तानलाई अस्थिर र व्यस्त राख्ने रणनीति अपनाइरहेको आरोप लगाएका छन्।

बिबिसी उर्दू सेवाका अनुसार उनले पाकिस्तानी टेलिभिजन च्यानल जियो न्युज सँगको अन्तर्वार्तामा भने, पाकिस्तानका सबै नेता, सेना र जनता यस कुरामा एकमत छन् कि अफगानिस्तानको समस्या तत्काल समाधान हुनुपर्छ, र त्यसको मुख्य उपाय भनेको अफगान भूमिबाट हुने आतंकवादी गतिविधि पूर्ण रूपमा रोक्नु हो।

advertisement

रक्षामन्त्री आसिफका अनुसार भारत यस क्षेत्रीय अस्थिरतालाई प्रयोग गरेर पाकिस्तानमाथि दुईतर्फी दबाब सिर्जना गर्न खोजिरहेको छ। यदि आवश्यक पर्‍यो भने, भारत कसरी आतंकवादमा संलग्न छ र पाकिस्तानलाई दुई मोर्चामा व्यस्त राख्न खोजिरहेको छ भन्ने प्रमाण पनि हामीसँग छन्, उनले भने।

उनले अफगानिस्तानसँगको संवाद सकारात्मक दिशामा अघि बढिरहेको दाबी गर्दै भने, म आशावादी छु, अफगानिस्तानसँगको हाम्रो वार्ता र मित्र राष्ट्रहरूको सहयोगले छिट्टै सकारात्मक निष्कर्ष ल्याउनेछ।

गत महिना पाकिस्तान र अफगानिस्तानबीच सीमा क्षेत्रमा भएको सैन्य द्वन्द्व टर्की र कतारको मध्यस्थतामा अन्ततः युद्धविराममा पुगेको थियो।

यसअघि, यस वर्ष अप्रिलमा भएको पहलगाम आक्रमण र मे महिनामा भएको सीमा झडपपछि भारत–पाकिस्तान सम्बन्ध पुनः तङ्ग्रिएका थिए, जसले दुई देशबीचको तनाव झनै चर्काएको बताइन्छ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com