काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आगामी कात्तिक २० गते पार्टी एकता औपचारिक रूपमा घोषणा गर्ने तयारी भएको छ। आइतबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको सचिवालय बैठकले सो निर्णय गरेको हो।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता अग्नीप्रसाद सापकोटाले कात्तिक १८ गते बस्ने केन्द्रीय समिति बैठकमा संगठनात्मक र नीतिगत विषयमा छलफल हुने र त्यसपछि २० गते एकीकृत समाजवादीलगायत एकतामा आउने दलहरूसँग संयुक्त बैठक बसेर एकता घोषणा गर्ने जानकारी दिए।

advertisement

सापकोटाका अनुसार बैठकमा एकता पश्चात् नयाँ दल दर्ता प्रक्रिया, संगठन पुनर्गठन र नीति–कार्यदिशासम्बन्धी तयारीबारे विस्तृत छलफल गरिएको छ। उनले भने, नीतिगत, वैचारिक र संगठनात्मक विषयहरू मिलाएर निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने तयारी मुख्य एजेन्डा हो।

तर, सचिवालय सदस्य जनार्दन शर्माले भने आजको बैठक बहिष्कार गरेका छन्। प्रचण्ड नेतृत्वमा अघि बढाइँदै गरिएको एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले शनिबारकै बैठकमा आफ्नो विरोध सार्वजनिक गरेका थिए।

शर्माको व्यवहारबारे प्रवक्ता सापकोटाले टिप्पणी गर्दै भने, उहाँले आफ्ना कुरा राख्नुभयो तर अन्य नेताको धारणा सुन्नुअघि नै बैठक छोड्नुभयो। यस्तो शैली अनुशासन विपरीत भएकाले पार्टीले आवश्यक निर्णय लिनेछ।

माओवादी केन्द्रले एकीकृत समाजवादीलगायत वामपन्थी दलहरूसँग वैचारिक, नीतिगत र संगठनात्मक सहमति जुटाएर नयाँ एकीकृत दल गठन गरी संयुक्त अधिवेशनमा जाने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com