काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको कार्यतालिकाबारे सहमति नजुट्दा आइतबार बिहान बसेको पदाधिकारी बैठक फेरि स्थगित भएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा बसेको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यतालिका र निर्वाचनबारे एकैपटक निर्णय गर्नुपर्ने अडान लिएपछि सहमति जुट्न नसकेको हो।

कार्यवाहक सभापति खड्काले ‘पहिला निर्वाचनमा जाने विषयमा केन्द्रीय समितिबाट निर्णय गरौँ’ भन्ने प्रस्ताव राखेका थिए। संस्थापन पक्षका नेताहरूले सो प्रस्तावलाई समर्थन गरे पनि महामन्त्रीद्वयले अस्वीकार गरेपछि बैठक निष्कर्षविहीन बनेको हो। त्यसपछि खड्काले आइतबार दिउँसोका लागि बोलाइएको केन्द्रीय समिति बैठकलाई मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।

advertisement

सहमहामन्त्री महेन्द्र यादवका अनुसार सबैको सहमति रहेको निर्वाचनमा जाने निर्णयलाई संस्थागत रूपमा टुंग्याउने प्रस्ताव केही पदाधिकारीले अस्वीकार गरेपछि बैठक रोकिएको हो। उनका अनुसार हामीले निर्वाचनमा जाने निर्णयलाई केन्द्रीय समितिबाट पारित गर्न सुझाएका थियौँ, तर केही पदाधिकारीले स्वीकार नगरेकाले बैठक स्थगित गर्नुपर्‍यो।

बैठकमा डा. शेखर कोइराला र महामन्त्री गगन थापा निर्वाचनबारे निर्णय गरेर अघि बढ्न लचिलो देखिए पनि महामन्त्री विश्वप्रकाश शर्माले  महाधिवेशन र निर्वाचन दुबै विषयमा एकैपटक निर्णय हुनुपर्छ, भन्ने अडान लिएका थिए।

कांग्रेसभित्र अहिले महाधिवेशनको मिति प्रमुख विवाद बनेको छ। इतर समूह र गगन थापाले मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन् भने संस्थापन पक्षले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनपछि नियमित महाधिवेशन गर्ने प्रस्ताव राखेको छ।

महामन्त्री शर्माले वैकल्पिक रूपमा पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव शनिबारको पदाधिकारी बैठकमा राखेका थिए। तर सो प्रस्ताव पनि सहमतिको आधार बन्न सकेको छैन।

यसबीच, ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको मागसहित कार्यवाहक सभापतिलाई हस्ताक्षर बुझाइसकेका छन्।

महामन्त्री थापाले यसअघि बिहीबारको केन्द्रीय समिति बैठकमा मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गर्न नपाएपछि बैठक बहिष्कार गरेका थिए। त्यसपछि शुक्रबारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो।

हाल कार्यवाहक सभापति खड्काको पहलमा मध्यमार्गी सहमति खोज्ने प्रयास जारी छ। सहमहामन्त्री बद्री पाण्डेले भने, महाधिवेशन कार्यतालिकाबारेको विवाद अझ समाधान भएको छैन। हामी अहिले पनि सबै पक्ष सहमत हुने मध्यमार्गी प्रस्तावमा काम गर्दैछौँ।

नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि पार्टीभित्रको असमझदारी टार्न निरन्तर छलफल जारी रहेको बताए।

पार्टीभित्र मितिमाथिको विवाद टुंगिन नसकेपछि शुक्रबारका लागि तय गरिएको केन्द्रीय समिति बैठक आइतबार सारिएको थियो। तर आइतबारको छलफल पनि निष्कर्षमा नपुगेपछि अब बैठक मंगलबारसम्मका लागि पुनः स्थगित गरिएको छ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com