काठमाडौं । नेकपा (एमाले)ले ‘युथ भोलिन्टियर फोर्स’ गठन गरेको छ।
आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलामार्फत यो फोर्सको औपचारिक घोषणा गरिएको हो। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य पनि उपस्थित थिए।
युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले फोर्सको प्रारम्भिक आचारसंहिता तयार पारिएको जानकारी दिएका छन्। उनले भने, ‘भक्तपुरमा पहिलो पटक युथ भोलिन्टियर फोर्सको घोषणा गरेका छौं। अब ललितपुर, काठमाडौं, काभ्रे, रामेछापलगायतका जिल्लामा पनि विस्तार गर्ने तयारीमा छौं।’
उनका अनुसार, यो फोर्सको निर्माणमा मधेश, पहाड र हिमालका संगठनका युवाहरूको सक्रिय सहभागिता रहेको छ। बस्नेतले केपी ओली गुण्डुमा बस्न थालेपछि दुई महिनादेखि करीब दुई हजार युवाहरू त्यस क्षेत्रमा खटिइरहेका जानकारी दिए। ‘यस अवधिमा स्थानीयवासीबाट कुनै गुनासो आएको छैन,’ उनले थपे। पुष्प श्रेष्ठ, अमित पौडेललगायतले हालसम्म फोर्सको समन्वय र व्यवस्थापनमा भूमिका निभाइरहेको बस्नेतले बताए। उनका अनुसार युवा संघ, भूतपूर्व सैनिक संगठन र एमाले भक्तपुर मिलेर नेताहरूको सुरक्षासँगै स्थानीय सहयोगमा पनि सक्रिय छन्।
विगतमा युथ फोर्स गठन गरेर माओवादी आतंक नियन्त्रणमा भूमिका खेलेको उल्लेख गर्दै बस्नेतले अहिले पनि देशभर फैलँदै गएको अराजकता, अव्यवस्था र हिंसात्मक प्रवृत्तिविरुद्ध युथ भोलिन्टियर फोर्सले सक्रिय रूपमा काम गर्ने बताएका छन्।
प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार












प्रतिक्रिया