काठमाडौं । मुलुकमा देखिएको राजनीतिक अस्थिरतामाथि गम्भीर चिन्ता व्यक्त गर्दै नेकपा (माओवादी केन्द्र) र गोपाल किराती नेतृत्वको देशभक्त समाजवादी मोर्चाबीच तीन बुँदे सहमति भएको छ । उक्त सहमतिसँगै किराती नेतृत्वको मोर्चा माओवादी केन्द्रमा समाहित भएको छ ।
सोमबार सार्वजनिक गरिएको सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समाजवादी राज्यव्यवस्थाको कार्यान्वयन र दलाल–नोकरशाही पुँजीवादी शासनको अन्त्यका लागि एकीकृत समाजवादी ध्रुवीकरण अपरिहार्य भएको निष्कर्ष प्रस्तुत गरिएको छ ।
सहमतिको पहिलो बुँदामा विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीहरूको वस्तुनिष्ठ मूल्याङ्कन गर्न कार्यटोली गठन गरी त्यसको दस्तावेजीकरण गर्ने व्यवस्था गरिएको छ । यस प्रक्रियाबाट वर्गीय तहमा नयाँ आधारमा एकता र रुपान्तरणको स्पष्ट दिशा तय गरिने उल्लेख छ ।
दोस्रो बुँदामा गोपाल किरातीले प्रतिपादन गरेको ‘देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्र’ विषयमा पार्टीभित्र गहिरो र व्यवस्थित छलफल गरी, पूर्ण जनवादका सिद्धान्तमा आधारित निर्णय लिने उल्लेख छ ।
तेस्रो बुँदामा सहमतिको कार्यान्वयन सुनिश्चित गर्न किराती नेतृत्वका मार्क्सवादी क्रान्तिकारीहरू नेकपा (माओवादी केन्द्र)मा ध्रुवीकृत हुने निर्णय गरिएको छ ।
सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीले हस्ताक्षर गरेका छन् ।
सहमतिपछि जारी संयुक्त अपिलमा देशभक्त, मजदुर, किसान, सुकुमवासी, वित्तीय शोषणपीडित, जातीय र क्षेत्रीय समुदायहरू तथा पहिचानमा आधारित जनसमुदायबीच समाजवादी एकता र ध्रुवीकरण सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, अखण्डता र संविधानमा उल्लिखित समाजवादउन्मुख राज्यव्यवस्थाको कार्यान्वयनमा एकजुट हुन सबैलाई आह्वान गरिएको छ ।
gopal
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया