काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र अन्य वाम घटकबीच बन्ने नयाँ पार्टीको चुनाव चिन्ह ‘तारा’ चयन भएपछि नेता बामदेव गौतमले आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिएका छन् ।

हिजो सम्पन्न आठ वाम घटकका शीर्ष नेताहरूको बैठकमा पार्टी एकता र नयाँ चिन्हका विषयमा निर्णय भएपछि गौतमले स्मृतिसँगै आफ्नो भाव व्यक्त गरेका थिए । उनले भने, ‘यो चिन्ह मैले पहिले पनि प्रयोग गरेको थिएँ, धेरै घुमेँ, फिरेँ, फेरि यही तारासँग मेरो भेट भयो — म अत्यन्तै खुसी छु।’

advertisement

स्मरणीय छ, बामदेव गौतमको नेतृत्वमा २०५४ सालमा एमालेबाट अलग भएर बनेको नेकपा (माले) ले ‘तारा’लाई चुनाव चिन्ह बनाएको थियो । सोही चिन्हमा मालेले २०५६ सालको आमनिर्वाचनमा भाग लिएको थियो ।

तर त्यसपछि गौतमले आफ्नो पार्टीलाई एमालेमै पुनः एकीकृत गरे भने सीपी मैनालीलगायत केही नेताहरू अलग रहे । मैनाली समूहले जोगाएर राखेको ‘तारा’ चिन्ह अहिले बन्ने नयाँ एकीकृत पार्टीले प्रयोग गर्ने भएको हो ।

संयोगवश, हालै मात्र गौतम एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनले नेताहरूबीचको छलफलमा भनिरहेका थिए, ‘मैले एक समय छोडेको यो चिन्ह फेरि फर्किएर मेरो हातमा आएको छ, यो संयोग मात्र होइन, इतिहासको पुनरागमनजस्तै लागेको छ।’

नयाँ पार्टीको नाम भने अझै टुंगो लागेको छैन । नेताहरूका अनुसार ‘नेकपा (समाजवादी)’, ‘नेपाली कम्युनिष्ट पार्टी’, वा ‘नेपाली कम्युनिष्ट पार्टी (समाजवादी)’ मध्ये कुनै एक नाम तय गर्ने विषयमा छलफल जारी छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com