काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतारको राजधानी दोहा प्रस्थान गरेका छन् । उनी त्यहाँ यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुँदैछन्।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन्।

advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायतले राष्ट्रपतिलाई बिदाई गरेका थिए। सो अवसरमा सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुख र नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थितिमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो।

राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ। सम्मेलनका क्रममा उनले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतका उच्च व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको छ।

संयुक्त राष्ट्रसङ्घको निर्णयअनुसार तीन दशकपछि आयोजना हुन लागेको यो दोस्रो सम्मेलन हो। पहिलो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको थियो। यसपटक सम्मेलनको आतिथ्य कतारले गरिरहेको छ।

सम्मेलनमा विश्वभर बढ्दो विकास असमानता, जनसङ्ख्यागत असन्तुलन, प्रविधिको प्रभाव र सामाजिक परिवर्तनका चुनौतीहरूबारे गहन छलफल हुने बताइएको छ। साथै, सामाजिक विकासका लागि सहकार्य र साझा प्रतिबद्धता घोषणासमेत गर्ने तयारी गरिएको छ।

राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी सविता पौडेल, सञ्चारविज्ञ किरणकुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी छन्। उनी कात्तिक २० गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com