काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई ताइवानमाथि आक्रमण गर्ने साहस नगर्न कडा चेतावनी दिएका छन् । उनले भनेका छन्— यदि चीनले ताइवानमाथि हमला गर्ने निर्णय गर्यो भने त्यसका गम्भीर परिणाम चीनले भोग्नुपर्नेछ ।
सीबीएस न्यूजसँग आइतबारको अन्तर्वार्तामा ट्रम्पले भने, ‘राष्ट्रपति सी जिनपिङले परिस्थितिलाई राम्ररी बुझेका छन् । यदि ताइवानमाथि आक्रमण भयो भने त्यसको परिणाम के हुन्छ भन्ने उनले ठ्याक्कै जान्दछन् ।’ उनले थपे, ‘हाम्रो भेटका क्रममा उनले यो विषयमा कुरा उठाएनन्, किनकि उनी त्यसका परिणामबारे सजग छन् ।’
ट्रम्पका अनुसार, जिनपिङले आफू राष्ट्रपतिका रूपमा रहुञ्जेल चीनले ताइवानमाथि कुनै सैन्य कदम नचलाउने आश्वासन दिएका थिए । उनले भनिरहेका थिए, ‘मेरो कार्यकालमा चीनले ताइवानमाथि हमला गर्न कहिल्यै आँट गरेन, किनकि उनीहरूलाई थाहा थियो— अमेरिका कडा प्रतिक्रियाका लागि तयार छ।’
त्यसै सन्दर्भमा ट्रम्पले अमेरिकाले फेरि परमाणु परीक्षण सुरु गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनका भनाइमा, ‘अमेरिकासँग यति धेरै परमाणु अस्त्र छन् कि संसारलाई १५० पटकसम्म नष्ट गर्न सकिन्छ ।’ उनले भने, ‘रूस र चीनका गतिविधिका कारण अब फेरि परीक्षण अपरिहार्य भएको छ ।’
ट्रम्पका अनुसार, रूस र चीन दुबै गोप्य रूपमा परमाणु परीक्षण गरिरहेका छन्, यद्यपि त्यसबारे विश्व समुदायलाई जानकारी छैन । उनले अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) लाई तत्काल परीक्षण पुनः सुरु गर्न निर्देशन दिएको दाबी पनि गरेका छन् ।
अमेरिकाले अन्तिम पटक सन् १९९२ सेप्टेम्बर २३ मा नेभाडा परीक्षणस्थलमा ‘रेनियर मेसा’ नामक क्षेत्रमा भूमिगत विस्फोट गरेर परमाणु परीक्षण गरेको थियो । उक्त विस्फोटको कोडनेम ‘डिवाइडर’ राखिएको थियो, जसको शक्तिले भूमिगत चट्टानहरू पग्लिएका थिए र जमिन करिब एक फिटसम्म उचालिएर फेरि धसेको थियो ।
यसबीच, अमेरिका–चीनबीचको सैन्य संवाद पनि जारी रहेको छ । गत ३१ अक्टोबरमा मलेसियामा अमेरिकी रक्षा मन्त्री पीट हेगसेथ र चिनियाँ समकक्षी एडमिरल डोङ जुनबीच भेटवार्ता भएको थियो ।
हेगसेथले चीनको ताइवान र दक्षिण चीन सागरमा बढ्दो सैन्य गतिविधिबारे चिन्ता व्यक्त गर्दै भने, ‘अमेरिका इन्डो–प्यासिफिक क्षेत्रमा शक्ति सन्तुलन कायम राख्नेछ र आफ्ना हितको रक्षा गर्न तयार छ । हामी टकराव चाहँदैनौं, तर आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाइराख्नेछौं ।’
जवाफमा चिनियाँ मन्त्री डोङ जुनले भने, ‘अमेरिकाले ताइवान मामिलामा सावधानीपूर्वक काम गर्नुपर्छ । ताइवानको स्वतन्त्रताको समर्थन नगर्नु नै दुवै देशका लागि हितकर हुनेछ ।’
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया