काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई सात दिनभित्र खाली गर्न निर्देशन दिएपछि उत्पन्न भएको तनावबीच आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह सुकुम्बासीको समर्थनमा खुलेका छन्।
मेयर बालेन शाहले महानगर क्षेत्रका अव्यवस्थित बसोबास र अवैध संरचना हटाउन डोजर अभियानको चेतावनी दिँदै आएका बेला आजपा अध्यक्ष साहले सुकुम्बासी बस्तीमाथि ‘डोजर आतंक’ चलाउने प्रयासलाई अस्वीकार्य भन्दै कडा प्रतिवाद जनाएका छन्।
कोटेश्वरमा आजपा निकट आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघद्वारा आयोजित खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै साहले भने, सुकुम्बासीलाई हटाउने होइन, उनीहरू बस्दै आएका स्थानमै व्यवस्थित पक्की घर बनाएर दिनुपर्छ। संविधानले हरेक नागरिकलाई बासस्थान, रोजगारी र जीविकाको अधिकार दिएको छ। त्यसका विपरीत महानगरले डोजर चलाएर जनतालाई आतंकित पार्न खोजे हामी चुप बस्दैनौं ।
साहले मेयर शाहलाई सम्बोधन गर्दै भने, गरिब हटाउने होइन, गरिबी हटाउने सद्बुद्धि बालेनलाई आओस्। संविधान र कानूनभन्दा माथि कोही छैन। सुकुम्बासीलाई धम्क्याउने, डराउने काम बन्द गर्नुस्।
उनले काठमाडौंका जग्गा भूमाफियाको कब्जामा पर्न सक्ने तर गरिब नागरिकका टिनका छानामाथि डोजर चलाउने नीति गलत भएको टिप्पणी गरे। मौलापुर नगरपालिकामा दलित समुदायका लागि पक्की घर निर्माण गरी उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै साहले भने, शासकको नियत सफा भयो भने सुकुम्बासी समस्या एक महिनाभित्र समाधान गर्न सकिन्छ। मौलापुर मोडलबाट सिक्नुपर्छ।
अध्यक्ष साहले भूमिसम्बन्धी आयोग खारेज गरेर वर्तमान सरकारले सुकुम्बासी समस्या समाधान गर्न खोज्नुभन्दा उल्टै जटिल बनाएको आरोप लगाए। उनले थपे, बालेन मात्र होइन, महानगरका उपमेयर, वडा अध्यक्ष र सदस्य सबै जनप्रतिनिधि हुन्। उनीहरू किन मौन छन्? कांग्रेस र एमालेका निर्वाचित प्रतिनिधिहरूले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ।
साहले सुकुम्बासी, कबाड व्यवसायी र फुटपाथ व्यापारीहरूलाई बालेनको जनविरोधी नीतिका विरुद्ध एकजुट हुन आह्वान गरे। संविधान र कानुनको मर्यादा मिचिए हामी जस्तोसुकै प्रतिकारका लागि तयार छौं, उनले चेतावनी दिए।
कार्यक्रममा आजपा सहअध्यक्ष तथा पूर्वसंविधानसभा सदस्य तिलक थापा मगरले “मौलापुर विकास मोडल” लाई देशभर लागू गर्नुपर्ने आवश्यकता औंल्याए। उनले प्रभु साहलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि बढाउने घोषणा समेत गरे।
आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघका अध्यक्ष कालबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपा प्रवक्ता चन्द्रभूषण साह, सचिवालय सदस्य सुभाष साह, कबाड व्यवसायी संघर्ष समितिका रामकेवल गुप्ता, सुकुम्बासी नेता अमर लिम्बु, मानसिंह गजेल, महेन्द्र खड्का, शान्ता थापा मगर, अर्जुन कुमार, सुजन पराजुली, हरि सुवेदी र नरबहादुर बराइलीलगायतले सहभागिता जनाउँदै सुकुम्बासी अधिकारको पक्षमा आवाज उठाए।
कार्यक्रमकै क्रममा समाजसेवी तथा सामाजिक अभियन्ता महेन्द्र खड्का आजपा प्रवेश गरेका छन्। उनलाई अध्यक्ष साहले टीका, माला र अबिर लगाएर पार्टीमा स्वागत गरे।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया