धनगढी । कैलालीमा स्रोत नखुलेको २८ लाख रुपैयाँ नगद सहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी, पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेका छन्।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनीहरूलाई धनगढी उपमहानगरपालिका–३, मिलनचोकबाट नियन्त्रणमा लिएको हो।
प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार, पक्राउ परेका दुवैको साथबाट स्रोत नखुलेको २८ लाख तीन सय ५० रुपैयाँ बरामद गरिएको छ।
हरचित गुप्ताको यूपी ३१ सीएन ११७५ नम्बरको भारतीय कारमा पनि उक्त रकम फेला परेको प्रहरीले जनाएको छ। कार र पक्राउ परेका दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया