काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गत भदौ २३ र २४ मा भएको आन्दोलनमा मोबाइलमा निर्भर युवाहरूलाई गलत तत्वले आफूअनुकूल प्रयोग गरेको दाबी गरेका छन्।
प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भने, ‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने युवाहरूलाई गलत तत्वले आफ्नो उद्देश्य पूरा गर्न प्रयोग गरेको हो। सूचना प्रविधिप्रतिको लत कस्तो तहमा पुगेको थियो भन्ने पछिल्ला घटनाक्रमले प्रमाणित गर्यो।’
उनले जेनजी आन्दोलनमा उठाइएका मागहरू अनुचित नभएको भए पनि ती मागहरू पूरा गराउन कुनै स्पष्ट नेतृत्व स्थापित हुन नसकेको र सरकारसमक्ष प्रस्तुत नै नहुने अवस्था रहेको बताएका छन्।
पोखरेलले भने, ‘जेनजीका नवयुवाले अघि सारेका माग अनुचित थिएनन्। त्यो सरकारले पूरा गर्न नसक्ने कुरा पनि होइन। तर, मागहरू सरकारसमक्ष राखिएका थिएनन्, र कसले आन्दोलनको नेतृत्व गरिरहेको थियो भन्ने पूर्ववर्ती सरकारलाई जानकारी नै थिएन।’
साथै, उनले पूर्ववर्ती सरकारले चासो नदेखाएको भन्ने धारणा स्थापनाको प्रयासप्रति आपत्ति जनाएका छन्। पोखरेलले भने, ‘सामान्य विषयमा पनि सरकारले किन चासो राखेन भन्ने जबरजस्त धारणा स्थापित गर्न खोजिएको थियो। यो उचित थिएन। पछिल्ला घटनाक्रमले देखाउँछ कि परिस्थितिलाई आफ्नो स्वार्थअनुकूल अघि बढाउन घटना बढाइएको थियो।’
उनका अनुसार, आन्दोलनको वास्तविक उद्देश्य राजनीतिक स्वार्थ वा गलत प्रवृत्तिबाट प्रभावित नभई युवाहरूका मागमाथि केन्द्रित हुनु पर्ने थियो, तर त्यसो हुन सकेन।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया