रसुवा । नेपाल–चीन सीमा नाकामा रहेको रसुवागढी मितेरी पुल आगामी एक महिनाभित्र पुनः निर्माण सम्पन्न हुने भएको छ।
चिनियाँ अधिकारीहरूले दिएको जानकारीअनुसार, गत असारमा ल्हेन्देखोलामा आएको बाढीले बगाएको पुल पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पुल तयार भएपछि दुई देशबीच अवरुद्ध भएको आवतजावत पुनः सुचारु हुने अपेक्षा गरिएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार, चिनियाँ पक्षसँगको छलफलपछि एक महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने सहमति भएको हो। पुल बनेपछि दुबै पक्षबीच बैठक बसी उद्घाटन र सञ्चालन मिति तय गरिने उनले बताए।
पन्थीले चिनियाँ पक्षले प्रतिकूल मौसमका बाबजुद निर्माणलाई प्राथमिकता दिएको जनाउँदै, यदि पुनः अप्रत्याशित प्राकृतिक अवरोध सिर्जना भएन भने मितेरी पुल एक महिनाभित्र सञ्चालनमा आउनेछ, भने।
पुल बगाएपछि रसुवागढी नाकाबाट हुने आयात–निर्यात पूर्णरूपमा रोकिएको थियो। यस कारण करिब रु. १४ देखि १५ अर्बसम्म राजस्व गुमेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए। गत आर्थिक वर्षको यसै अवधिमा सो नाकाबाट झण्डै रु. १४ अर्ब भन्सार राजस्व संकलन भएको थियो।
यससँगै स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको १६ किमी क्षेत्रमा मर्मत तथा पुनर्निर्माण कार्य पनि जारी रहेको सडक विभागले जनाएको छ। तर, लगातारको वर्षा, पहिरो र नदी कटानका कारण अपेक्षाअनुसार काम अघि बढ्न नसकेको विभागको भनाइ छ।
टिमुरे र तातोपानीबीचका पाखा, लिङलिङ, कागतीवारि नजिकका भीर र घट्टेखोलाको दक्षिणी भागमा सडक कटानका समस्या अझै समाधान हुन बाँकी रहेको विभागले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार, विपद् व्यवस्थापन समितिले सडक र पुल दुवै निर्माणलाई गुणस्तरीय रूपमा सकेसम्म चाँडो पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया