काठमाडौं । ललितपुरको धोबिघाटमा बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरूको अनौपचारिक बैठकमा पार्टी महाधिवेशनबारे नेता डा. शेखर कोइरालाको मौनता र अस्पष्ट भूमिकाबारे प्रश्न उठेको छ।
आगामी निर्वाचनअघि नियमित महाधिवेशन गर्नुपर्ने वा चुनावपछि मात्र आयोजना गर्ने भन्ने विषयमा दुई धारका नेताहरूबीच मतभेद भइरहेका बेला सहमति खोज्ने उद्देश्यले शीर्ष नेताहरूको छलफल भएको हो।
बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सो विषयमा कोइरालाको धारणा बुझ्न खोजेका थिए। सहभागी एक नेताका अनुसार खड्काले शेखरतर्फ फर्केर सोधेका थिए, यसबारे तपाईंको विचार के हो? तर कोइरालाले स्पष्ट जवाफ नदिएको बताइएको छ।
एक नेताका भनाइअनुसार, अनौपचारिक भेटघाटमा उहाँ सधैं ‘मिलाउनुपर्छ’ मात्र भन्नुहुन्छ, तर ठ्याक्कै के मिलाउने भन्ने विषयमा स्पष्ट धारणा दिनुहुन्न। बैठकमा पनि उहाँको जवाफ त्यही ढङ्गको थियो ‘मिलाएर गर्नुपर्छ।’
शेखर कोइरालाले न त विशेष महाधिवेशनका लागि सक्रिय पहल लिएका छन्, न त नियमित महाधिवेशनका तयारीमा ठोस दबाब सिर्जना गरेको आन्तरिक बुझाइ कांग्रेसभित्र रहेको बताइन्छ।
बैठकमा सहभागी अन्य नेताहरूले पनि पार्टी नेतृत्वले अब महाधिवेशनको स्पष्ट कार्यतालिका तय गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार













प्रतिक्रिया