काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कैलालीमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या तीव्र गतिमा बढ्दै गएको छ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार असोज १० गतेदेखि सुरु गरिएको नामावली सङ्कलन अभियानअन्तर्गत आजसम्म १ हजार ८४४ नयाँ मतदाता थपिएका छन्। उनका अनुसार दैनिक सरासर एक सयदेखि १२० जनासम्मले आफ्नो नाम दर्ता गराइरहेका छन्।
नाम दर्ता गराउनेमध्ये करिब ६५ प्रतिशत किशोर र युवा वर्गका छन्, भट्टले बताए। उनले युवा सहभागिता उत्साहजनक रहेको जनाए।
यस अवधिमा ३३० मतदाताले स्थायी ठेगाना परिवर्तन (ठाउँ सर्ने) सम्बन्धी निवेदन पनि दिएका छन्।
कैलालीमा प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेका छन्। पछिल्लो आम निर्वाचनमा क्षेत्र नं १, २ र ३ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार तथा क्षेत्र नं ४ र ५ बाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। सो निर्वाचनमा जिल्लाभर पाँच लाख ३४ हजार ८६४ मतदाता थिए।
सरकारले अध्यादेशमार्फत मतदाता नामावली ऐन संशोधन गरेपछि पुनः नामावली सङ्कलन सुरु गरिएको हो। निर्वाचन आयोगले यो प्रक्रिया आगामी कात्तिक ३० गतेसम्म जारी रहने जनाएको छ।
प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार












प्रतिक्रिया