काठमाडौं । जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिने तयारी गरेको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको आयोगले नख्खु कारागारमा रहेका लामिछानेसँग आजै बयान लिने सम्भावना रहेको आयोग स्रोतले जनाएको छ ।
लामिछाने हाल सहकारी बचत रकम दुरुपयोग (अपलचन) मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा छन् । भदौ २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा उनी केही समयका लागि जेलबाट बाहिर निस्केका थिए । त्यसपछि पुनः नख्खु कारागार फर्किएका उनी अहिले सोही मुद्दामा थुनामा छन् ।
आयोगले यसअघि नख्खु कारागारका प्रमुख सत्यराज जोशी, त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरूसँग विस्तृत बयान लिइसकेको छ । जोशीले लामिछाने बाहिर निस्कँदा प्रयोग भएको पत्र आफूले नदिएको दाबी गरेका छन् ।
‘लामिछाने समर्थकहरूले आफैंले पत्र तयार पारेका र छापसमेत हानेका हुन्,’ कारागार प्रमुख जोशीको भनाइ उद्धृत गर्दै आयोग स्रोतले बतायो, ‘उनीहरूले त्यसबेला आफूलाई धम्कीसमेत दिएको दाबी समेत गरेका छन्।’
भदौ २४ गते जेलबाट बाहिरिएपछि लामिछानेले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आफूलाई जबरजस्ती बाहिर निकालिएको दाबी गरेका थिए ।
‘म जेलबाट निस्किने पक्षमा थिइनँ, तर भीड बढेपछि कारागार प्रशासनले नै बाहिर निकालेको हो,’ उनले भनेका थिए, ‘मैले बिनापत्र नजान्ने भनेको थिएँ, तर उनीहरूले जस्तो पत्र दिए, त्यसैको आधारमा सार्वजनिक गरेको हुँ।’
लामिछानेले सोबारे नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरूलाई समेत जानकारी गराएको बताएका छन् ।
‘मैले भनेको थिएँ— तपाईंहरूले चाहनुहुन्छ भने मलाई पुनः नियन्त्रणमा लिनुस् वा कारागारमै पठाउनुस्,’ उनले भिडियो सन्देशमा भनेका थिए, ‘तर उहाँहरूले भने— तपाईं आफैं सुरक्षित रहनुस्, आवश्यक परे सम्पर्क गर्छौं। सम्भवतः सुरक्षा अभावकै कारण कारागारले त्यो पत्र दिएको होला।’
आयोगले अब लामिछानेको बयानपछि घटनाको सम्पूर्ण विवरणसहित प्रतिवेदन तयार गर्ने तयारी गरेको बताइएको छ ।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया