काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सरुवा निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत शाक्यलाई विद्युत् प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोग सचिवालयमा विशेष पद सिर्जना गरी पठाउने निर्णय गरेको थियो । शाक्यले उक्त निर्णय गैरकानुनी रहेको दाबी गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिट मंगलबारका लागि पेसी तोकिएको छ ।
शाक्यमाथि उर्जामन्त्री कुलमान घिसिङले व्यक्तिगत प्रतिशोधका आधारमा सरुवा गराएको आरोप लाग्दै आएको छ । जेनजी आन्दोलनपछि सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसहित तीन मन्त्रालयको जिम्मेवारी पाएका घिसिङले गत असोज ५ गते शाक्यलाई प्राधिकरणबाट हटाउने निर्णय गराएका थिए ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गत चैत्र ११ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाई शाक्यलाई सो पदमा नियुक्त गरेको थियो ।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया