काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की वरिष्ठ नेतृ रामकुमारी झाँक्री आगामी पार्टी एकता प्रक्रियाबाट टाढा रहने भएकी छन् । अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) लगायतका वामदलहरूसँग एकताको अन्तिम तयारी गरिरहेका बेला झाँक्रीले सो प्रक्रियामा सहभागी नहुने स्पष्ट गरेकी हुन् ।
२०७८ सालमा एमालेसँग विद्रोह गर्दै एकीकृत समाजवादी गठनका बेला माधव नेपालको प्रमुख सहयोगी रहेकी झाँक्री पछिल्ला वर्षहरूमा भने नेतासँगको सम्बन्ध चिसिँदै गएको देखिन्छ । पार्टी एकतापछि न त उनी नयाँ एकतामा सामेल हुने पक्षमा छिन्, न घनश्याम भुसाल नेतृत्वमा हुनसक्ने पुनर्गठनमा । त्यसकारण उनी अहिले स्पष्ट दिशाविनै ‘दोधार’मा परेकी छन् ।
एमालेको विद्यार्थी राजनीतिबाट उदाएकी झाँक्री सांसद र मन्त्री भइसकेकी छन् । कुनै समय पार्टीभित्र ‘पोस्टर गर्ल’का रूपमा चर्चित उनी २०७९ सालको निर्वाचनपछि भने सार्वजनिक रूपमा खासै सक्रिय देखिएकी छैनन् ।
जेनजी आन्दोलनपछि वामदलबीच एकता प्रक्रियाको तयारी तीव्र बन्दै गर्दा समाजवादीभित्र अहिले तीन धार स्पष्ट देखिएका छन् , माधव नेपाल समूह, घनश्याम भुसाल–झलनाथ खनाल समूह, र रामकुमारी झाँक्री समूह ।
अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको समूहले माओवादीसहित आठ वाम दलसँग सहमतिपत्रमा हस्ताक्षर गरी कात्तिक १९ गते एकता घोषणा गर्न तयारी गरिरहेको छ । त्यसका विपरीत घनश्याम भुसाल, झलनाथ खनाल, विजय पौडेल र जीवनराम श्रेष्ठलगायतका नेताहरूले नयाँ पार्टी पुनर्गठनको तयारी थालेका छन् । उनीहरू सोही दिन घोषणापत्रको प्रारम्भिक मस्यौदा सार्वजनिक गर्ने तयारीमा छन् ।
तर झाँक्री समूह भने यी दुई धारामध्ये कुनै पनि पक्षमा उभिएको छैन । पूर्वमन्त्री किसान श्रेष्ठ र पूर्वसांसद अमरबहादुर थापा उनका निकट सहयोगी मानिन्छन्, तर उनीहरूको समूह अहिले पनि स्पष्ट निर्णयमा पुग्न सकेको छैन ।
‘माधव नेपालले हामीलाई बिच बाटोमा छाडेर जानुभयो,’ झाँक्रीले भनिन्, ‘हामी अहिले दोबाटोमा उभिएका छौं, जसले जता पनि जान सक्छ ।’
भुसाल समूहमा पनि आफू सहज नभएको झाँक्रीको धारणा छ । उनले नजिकका नेताहरूसँग भनेकी छन्, ‘घनश्याम दाइ ढिलो आए, ढिलो निर्णय गर्नुभयो, त्यसैले हामीसँगै हिँड्ने ठाउँ अब छैन ।’
अब झाँक्री समूहका अगाडि दुई विकल्प छन् ,- नयाँ पार्टी गठन गर्ने वा एमालेमा फर्किने । निकट स्रोतका अनुसार समूहभित्र केहीले तुरुन्तै एमालेमा फर्किने पक्ष लिएका छन् भने केहीले परिस्थिति हेरौँ भन्ने मत राखेका छन् ।
यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि हालै समाजवादी छाड्नेहरूलाई ‘घर फर्कन’ आग्रह गरेका छन् । उनले व्यक्तिगत रूपमा आउनेहरूलाई स्वागत गरिने तर नेतृत्व र नीतिमा प्रश्न उठाउन नपाइने सर्तसहित प्रस्ताव राखेका छन् । महासचिव शंकर पोखरेलले पनि यही सर्त दोहोर्याउँदै एमालेमा आउनेलाई स्वागत गरिने बताएका छन् ।
झाँक्रीले रातोपाटीसँगको अनौपचारिक संवादमा भनिन्, “हामी माओवादीसँगको एकता प्रक्रियामा सहभागी हुँदैनौं । फर्किने समय कहिले भन्ने मात्रै हो, तर त्यो दिन ढिलोचाँडो अवश्य आउनेछ ।”
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार












प्रतिक्रिया