काठमाडौं । लामो समयदेखि स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । यसअघि पटक–पटक बैठक स्थगित हुँदै आएको भए पनि आजको बैठक निश्चित समयमा सञ्चालन हुने भएको हो ।

बैठकमा पार्टी महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेका छन् । सोमबार दिनभर पार्टीका शीर्ष नेताहरूबीच सहमतिको खोजीका लागि छलफल भएको थियो । त्यसपछि आजको बैठक नियमित रूपमा बस्ने वातावरण बनेको हो ।

advertisement

महामन्त्री थापाले यसअघि पनि कार्यतालिका प्रस्तुत गर्न खोजेका थिए, तर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले “सर्वसम्मत निष्कर्षमा पुग्न छलफल आवश्यक” भन्दै समय लिएका कारण बैठक स्थगित भएको थियो ।

थापा कार्यतालिका पेश गर्ने अवसर नपाए बैठकमा सहभागी नहुने अडानमा थिए । तर, आजको बैठकमा उनी उपस्थित हुने र १५औं महाधिवेशनको कार्यतालिका औपचारिक रूपमा प्रस्तुत गर्ने पक्का भएको छ ।

थापाले आगामी २१ फागुन भित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका छन् । उता, संस्थापन पक्षले भने थापाको प्रस्तावको विरोध गर्दै वैकल्पिक कार्यतालिका तयार पार्ने तयारी गरेको स्रोतले जनाएको छ ।

आजको बैठकमा दुवै पक्षले आ–आफ्ना धारणा राख्ने अपेक्षा गरिएको छ, जसपछि महाधिवेशनको मिति र स्वरूपबारे अन्तिम निर्णयमा पुग्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com