गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता भएका दुई इटालियन आरोहीको शव आज फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको शव भेटिएको हो। दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको छ।
प्रहरीका अनुसार शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ।
गत बुधबार पाङबारी हिमालबाट फर्कने क्रममा तीन जना इटालियन नागरिक र एक जना नेपाली सहयोगी पहिलो र आधार शिविरमा अलपत्र परेका थिए। यसमध्ये ६४ वर्षीय इटालियन भेल्टर परलिनो गत आइतबार हेलिकोप्टरमार्फत उद्धार भइसकेका थिए।
साथै, नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङलाई पनि सोही दिन हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया