काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई पूर्ण रूपमा विद्युतीकरणतर्फ लैजान सरकार गम्भीर रहेको बताएका छन्।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै मन्त्री घिसिङले भने, ‘विद्युतीय गाडीको प्रयोग बढिरहेको छ, र भान्सामा प्रयोग हुने ग्यासलाई विस्थापित गरी इन्डक्सन वा वैकल्पिक ऊर्जामा रुपान्तरण गर्ने काम अझै बाँकी छ।’ उनले चार्जिङ स्टेशनको सहज व्यवस्थापनका लागि नीति सुधार गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी पनि दिए।
सिँचाइ क्षेत्रमा सोलार प्रविधिको प्रभावकारी प्रयोगका लागि सरकारले कार्ययोजना तयार गरिरहेको भन्दै मन्त्री घिसिङले निजी क्षेत्रको सक्रिय सहभागिताका लागि आह्वान गरे। ‘हावाबाट बिजुली उत्पादन (विन्ड पावर) गर्न इच्छुक कुनै पनि निजी कम्पनीलाई सरकारले सहयोग गर्नेछ,’ उनले बताए।
मन्त्री घिसिङले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विकट क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारलाई उपलब्धि गराएको योगदानको प्रशंसा गर्दै, अब अझ प्रभावकारी काम गर्न आवश्यक रहेको औँल्याए।
कार्यक्रममा ऊर्जा सचिव चिरञ्जीवी चटौतले केन्द्रले जलवायु परिवर्तनको असर घटाउन, ऊर्जा दक्षता बढाउन र कार्बन उत्सर्जन कम गर्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गराए। उनले ग्रामिण क्षेत्रमा विद्युत पहुँच पुर्याउने र नागरिकलाई शतप्रतिशत बिजुली सेवा उपलब्ध गराउने सरकारको लक्ष्य हासिल गर्न केन्द्रको योगदान महत्वपूर्ण रहेको बताए।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार












प्रतिक्रिया