काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको मुख्य गेटमा युवा विद्यार्थीहरूले राखेका विभिन्न माग पूरा गर्न आज ताला खोलेका छन्। ताला खोलेको काम मनिष रायमाझी र योन्जोर कार्कीले गरेका हुन्।
आज दिउँसो १ बजे सानेपामा केन्द्रीय समिति बैठक बोलाइएको थियो र बैठक अघि नै विद्यार्थीहरूले ताला खोलेका हुन्। ताला लगाउने क्रममा शिव रिमाल, सुवन गिरी, भुवन भट्ट, प्रेमिका राना मगर, धर्मराज शाही, मनिष रायमाझी, पुजन गन्धर्व, योन्जोर कार्की, जगतजंग विष्ट, विनोद शाही ठकुरीलगायतको सहभागिता थियो।
विद्यार्थीहरूले बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गर्दै आफ्ना माग सम्बोधन गर्न अनुरोध गरेका थिए। नेविसंघ पूर्वकेन्द्रीय कोषाध्यक्ष शिव रिमालका अनुसार, सभापति खड्काले मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टका अनुसार, सभापति खड्काले मौखिक सहमति जनाउँदै महाधिवेशनको मिति तोक्ने, क्रियाशील सदस्यको विवरण वेबसाइटमा प्रकाशित गर्ने र ४० वर्ष मुनिका ४० प्रतिशत युवालाई पार्टीमा समावेश गर्ने विधान संशोधन सुनिश्चित गर्ने बताएका छन्।
भट्टले भने, हामीले अराजकता मच्चाउन ताला लगाएका थिएनौं। हाम्रो माग महाधिवेशनको मिति घोषणा लगायतका विषयमा थिए, ती पूरा हुनुपर्छ।
केन्द्रीय कार्यालयमा ताला खोलिएको केही बेरमा केन्द्रीय समिति बैठक सानेपामा बस्ने तयारी छ। बैठकमा महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनको कार्यतालिका पेश गर्ने तयारी गरेका छन् भने सभापति शेरबहादुर देउवा पक्षबाट पनि कार्यतालिका पेश गर्ने तयारी भइरहेको छ। पार्टीभित्र चुनावअघि महाधिवेशन गर्ने कि चुनावपछि गर्ने भन्ने विषयमा मतभेद रहेको कारण दुई पक्षबाट भिन्न कार्यतालिका पेश हुने सम्भावना छ।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार












प्रतिक्रिया