रूपन्देही । नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान अन्तरिम सरकार निर्वाचनको तयारीमा नलागेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक दल र तिनका नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेको दाबी गरेका छन्।

रूपन्देहीमा मंगलबार आयोजित एमाले जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै पौडेलले जेन–जी आन्दोलनपछि देखिएका राजनीतिक घटनाक्रमका सन्दर्भमा सरकारको भूमिका प्रश्नवाचक भएको बताए। उनले भने,
‘यो स्तरको षड्यन्त्र र योजनाबद्धता देशले पहिले कहिल्यै देखेको थिएन। यस्तो षड्यन्त्र थाहा पाउन पनि कठिन रहेछ।’

advertisement

उनका अनुसार सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोके पनि तयारीको कुनै ठोस काम नगरेको छ।
‘चुनावको तयारी छैन, तयारीको नाममा राजनीतिक दलहरूलाई कमजोर पार्ने, नेताहरूलाई डराउने र प्रतिशोध लिने काम भइरहेको छ,’ उनले भने, ‘यसरी प्रतिशोधी व्यवहार गरेर निर्वाचन सम्भव छैन।’

पौडेलले संविधानले देशलाई बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा बाँधेको भन्दै दललाई बेवास्ता गरेर चुनाव गर्न नसकिने स्पष्ट पारे। उनले भने, ‘सरकारले निर्वाचनको मुखुण्डो लगाएको छ, तर तयारीका दाँत देखाउने मात्र हुन्, काम गर्ने दाँत छैनन्।’

उनले एमाले निर्वाचनबाट कहिल्यै नभाग्ने पनि दोहोर्याए। ‘पञ्चायती व्यवस्थाको समयमै पनि हामीले निर्वाचनलाई जनतामुखी रूपमा प्रयोग गरेका थियौँ,’ पौडेलले स्मरण गरे, ‘त्यसैले निर्वाचनमा नजाने कुरा हाम्रो लागि गौण हो। प्रश्न सरकारको निष्पक्षता र तयारीमा छ।’

पौडेलले निष्कर्षमा भने, ‘अहिलेको मुख्य चुनौती सरकारको अराजनीतिक र प्रतिशोधी व्यवहार हो, जसले लोकतान्त्रिक प्रक्रिया नै कमजोर पार्न खोजिएको छ।’

प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com