काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी अहिलेको रूपमै रहँदा नयाँ पुस्ताको विश्वास जित्न असमर्थ भएको बताएका छन्। उनले अब कांग्रेसले आफूलाई सुधारमुखी, जिम्मेवार र भविष्यप्रति प्रतिबद्ध राजनीतिक शक्तिका रूपमा पुनः स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए।
मंगलबार सानेपामा जारी केन्द्रीय समिति बैठकमा लिखित रूपमा प्रस्तुत प्रस्तावमार्फत महामन्त्री थापाले भनेका छन्, ‘अब कांग्रेसले पुनः प्रमाणित गर्नुपर्छ कि हामी पद वा सत्ताका लागि होइन, देश र सुधारका लागि लड्ने पार्टी हौं।’
थापाले आफ्नो प्रस्तावमा नयाँ अवधारणा प्रस्तुत गर्दै लेखेका छन्, ‘नयाँ कांग्रेस, नयाँ नेपाल -मूल्यमा निरन्तरता, अभ्यासमा परिवर्तन।’ उनका अनुसार, कांग्रेसले आफ्नो ऐतिहासिक मूल्य र सिद्धान्तलाई कायम राख्दै व्यवहार र कार्यशैलीमा आमूल सुधार गर्नुपर्ने समय आएको छ।
थापाले कांग्रेसलाई नयाँ युगको नेतृत्व गर्न सक्षम बनाउनका लागि केन्द्रीय कार्यसमितिलाई जिम्मेवार र सक्रिय बन्न आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘देशको बदलिँदो परिस्थितिलाई बुझ्दै भावी कदम तय गर्नु नै हाम्रो सफलता र पार्टीको भविष्यसँग जोडिएको छ।’
थापाले युवापुस्ताको अपेक्षा सम्बोधन नगरेसम्म कांग्रेसले आफ्नो परम्परागत जनाधार गुमाउँदै जाने चेतावनी पनि दिएका छन्। ‘अब युवालाई हामी उही कांग्रेस हौं भनेर विश्वास दिलाउन सक्ने अवस्था छैन,’ उनले भनेका छन्, ‘त्यसैले अबको कांग्रेसले आफूलाई नयाँ मूल्य र दृष्टिकोणले प्रस्तुत गर्नुपर्छ।’
महाधिवेशनलाई पार्टीको ‘नयाँ जीवन’ दिने अवसरका रूपमा व्याख्या गर्दै थापाले त्यसलाई ऐतिहासिक मोडको रूपमा लिन आग्रह गरे। उनले लेखेका छन्, पार्टीलाई नयाँ दिशा र जीवन दिन हामी सबैले सामूहिक संकल्पका साथ अघि बढ्नुपर्छ।
थापाले अन्त्यमा आफू र सह–महामन्त्रीहरू महाधिवेशनमा उम्मेदवारी नदिन तयार रहेको उल्लेख गर्दै अन्य नेताहरूलाई पनि जिम्मेवारी लिन आह्वान गरे। उनका शब्दमा, ‘यदि दुई महामन्त्री नलड्ने भनेर तयार छन् भने आउनुहोस्, महाधिवेशन गरौं। हामी तयार छौं, के तपाईंहरू पनि तयार हुनुहुन्छ?
थापाको प्रस्तावले कांग्रेसभित्र संगठनात्मक सुधार, नेतृत्वको पुस्तान्तरण र पार्टीको नयाँ रूपको बहसलाई थप तीव्र बनाएको छ।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार













प्रतिक्रिया